सबैलाई प्रजातन्त्र सिकाउन कांग्रेसले जित्नुपर्छ : देउवा

माघ १४ – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एकवर्ष भित्रमा तीनै तहको निर्वाचन हुनुपर्ने बताउनुभएको छ । उहाँले अबको चुनावमा सबै दललाई प्रजातन्त्र सिकाउनकै लागि पनि कांग्रेसको जित अनिवार्य भएको बताउनुभयो ।

उहाँले एकताविना चुनाव जित्न नसकिने भएकोले पार्टीको आन्तरिक एकता अनिवार्य रहेको  बताउनुभयो । नेपाल शिक्षक संघ सल्यानले गरेको वृहत भेलालाई सम्बोधन गर्दै सभापति देउवाले एक वर्ष भित्रमा स्थानीय, प्रान्तीय र केन्द्रिय चुनाव भएमा मात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताउनुभएको हो ।

देउवाले संविधानको पूर्ण कार्यान्वयन भएमा मात्र प्रजातन्त्र बलियो हुने बताउनुभयो । चुनाव भएमा मात्र संविधान पूर्ण रुपमा कार्यान्वयन हुने देउवाको भनाइ छ । देउवाले एकताको सुरुवात सल्यानदेखि नै गर्न निर्देशनसमेत दिनुभयो । चार मिनेट मात्रै बोलेका देउवाले अस्थायी शिक्षकहरुलाई स्थायी बनाउनका लागि आफूले सहयोग गर्ने बताउनुभयो ।

वर्षाले शक्ति प्रदर्शन प्रभावित, देउवाको भाषण सुन्नै नपाइ कार्यकर्ता फर्किए

पार्टी अधिवेशन पछि नेपाली कांग्रेस सल्यानको बैठक व्यवस्थित तरिकाले बस्न सकेको छैन । केन्द्रिय प्रतिनिधि मिन विश्वकर्माको उपस्थितिमा कांग्रेसले विवाद समाधान थालेको थियो । विश्वकर्माका अनुसार शुक्रबारको नेपाल शिक्षक संघको कार्यक्रमबाट एकताको सन्देश दिन कांग्रेस सल्यानले शक्ति प्रदर्शनको तयारी गरेको थियो ।

वर्षाका कारण प्रभावित कार्यक्रम टुँडिखेलमा गर्ने भनिएकोमा बालमन्दिरको हलमा गरिएको थियो । हलमा थोरै मात्रै कार्यकर्ता अटाएपछि अलपत्र परेका कांग्रेस कार्यकर्ताहरु सभापति देउवाको भाषण सुन्न नपाएपछि निराश भएर घर फर्किए । वर्षाले सभापति देउवाको बोल्ने रुटिङसमेत प्रभावित गरेपछि ४ मिनेटमै टुंग्याउनु परेको थियो ।

कांग्रेस केन्द्रिय सदस्य मिन विश्वकर्माले भन्नुभयो, ‘हलमा थोरै कार्यकर्ता मात्रै अटेका छन् हामीले पुरै शक्ति जिल्लामा उतारेका छौँ ।’ उहाँले एकताको सन्देश दिने कार्यक्रम प्रभावित भएपनि एकताको सन्देश गएको दावी गर्नुभयो । कांग्रेस सल्यानका सभापति गणेश चन्दले सबै नेता तथा कार्यकर्ताले सहयोग गरेमा दुईदिन भित्रमा विवाद समाधान गर्ने दावी गर्नुभयो ।

Comments

comments

Read More