हुम्लामा विद्यार्थी संख्या नपुगेपछि स्ववियु निर्वाचन नहुने,

इसरोकार संवाददाता हुम्ला, फागुन ६ – सिमकोटमा रहेको मानसरोवर बहुमुखी क्याम्पसमा आगामी फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन नहुने भएको छ । विद्यार्थी  भर्ना संख्या न्युन रहेकोले स्ववियु चुनाव नहुने भएको हो ।

मानविकी र शिक्षाशास्त्र संकाय विषयमा अध्यापन हुँदै आएको यस क्याम्पसमा निर्वाचनका लागि आवश्यक गणपुरक संख्या नपुगेकाले निर्वाचन नहुने क्याम्पस प्रमुख बसन्त रोकायाले बताउनुभयो ।

स्नातक तहको तीनै तहमा भर्ना संख्या न्युन रहेकोले जिल्लाको एक मात्र सामुदायिक क्याम्पसमा विद्यार्थीहरुले निर्वाचनमा भाग लिन नपाउने भएका छन् । क्याम्पसमा अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु(क्रान्तिकारी) गरी तीनवटा विद्यार्थी संगठन अस्तित्वमा रहेपनि उम्मेद्वार व्यक्तिको प्रस्तावक समर्थक संख्या नपुगेकोले निर्वाचन नहुने जनाइएको छ ।

अहिले क्याम्पसमा ६० जनामात्र विद्यार्थी भर्ना भएको जनाइएको छ । विद्यार्थी संख्यामा क्याम्पस स्थापनाकालदेखि कमी रहँदै आएकोले स्ववियु निर्वाचन कहिले हुने नहुने एकिन नभएको बताइएको छ ।

Comments

comments

Read More