प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति ‘सी’ भेट आज

चैत्र १४- चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै छन् । दाहालले ग्रेट हल अफ दि पिपुलमा सीसँग भेट्ने कार्यक्रम रहेको जानकारी उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए । सीसँगको भेटलाई दाहालले विशेष महत्व दिएका छन् । निकटस्थका अनुसार दाहालले आफूले नयाँदिल्लीलाई नजिक राखेको र चीनसँग दूरी बढाएको भन्ने बाहिर भएको प्रचारमा सत्यता नरहेको सन्देश चिनियाँ नेतृत्वलाई दिनेछन् । उनले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिनेछन् ।

दाहालले आइतबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावसँग भेटेका थिए । उनले आफ्नो पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका थिए । उनीसहितको नेपाली प्रतिनिधिमण्डलले आइतबार बिहान त्यहाँस्थित ग्रेटवालको पनि अवलोकन गरेको थियो । प्रधानमन्त्री दाहाललाई स्टेट गेस्ट हाउसमा राखिएको छ ।

यसअघि बेइजिङ फरेन अफेयर्स युनिभर्सिटीमा आइतबार आयोजित ‘नेपाल-चीन सम्बन्ध विकास तथा सम्भावना’ विषयक अन्तरक्रियामा दाहालले नेपालमा सरकार परिवर्तन भइरहे पनि नेपाल र चीनबीचको सम्बन्ध सदैव स्थिर रहेको बताएका थिए । आठ महिनाअघि सरकारको नेतृत्वमा आएपछि भारतसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर चीनसँग दूरी बढाएको आरोप खेपेका दाहालले उत्तरी छिमेकीसँगको सम्बन्ध अटल रहँदै आएको बताए ।

नेपाल र चीनमा राजनीतिक परिवर्तन भए पनि सम्बन्धमा कुनै बदलाव नआएको उनको तर्क थियो । ‘हाम्रो मुलुकमा राजनीतिक परिवर्तन भए पनि चीनसँगको हाम्रो सम्बन्ध स्थिर र अटल छ । नेपाल-चीन सम्बन्धको मौलिकता भनेकै यही हो’, दाहालले भने ।चिनियाँ विद्यार्थी, प्राज्ञिक वर्ग र बौद्धिक जमातको उपस्थिति रहेको कार्यक्रमका मुख्य वक्ता दाहालले नेपालमा जसको नेतृत्वमा सरकार बने पनि चीन सरकार र चिनियाँ जनतासँगको मित्रता बलियो र स्थिर रहेको बताए । ‘यो नै हाम्रो चिरस्थायी सम्बन्धको विशेषता हो’, उनले भने ।

साताव्यापी चीन भ्रमणमा रहेका दाहालले चीन नेपालको विकासमा विश्वसनीय र भरपर्दो साझेदार रहेको बताए । ‘हाम्रो मित्रता आर्थिक तथा सामाजिक दायराभन्दा बाहिर छ’, उनले भने, ‘चीनले निरन्तर दिँदै आएको सहायता र पुनर्निर्माणमा गरेको उदार सहयोगले नेपाली जनताको मन जितेको छ ।’

पञ्चशील सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध सुदृढ रहेको उल्लेख गर्दै दाहालले सार्वभौम समानता, अहस्तक्षेप र एकअर्काको साझा संवेदनशील मुद्दाको सम्मानबाट सम्बन्धलाई मार्गनिर्देश गरेको बताए । चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणामा साझेदार बन्न नेपालले चाँडै चीनसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रधानमन्त्री दाहालले बताए ।

दुई वर्षअघि नेपालले उक्त अवधारणामा साझेदार बन्न चीनसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको र अब चाँडै विस्तारित समझदारीपत्रमा हस्ताक्षर हुने उनले बताए । ‘चीनको वान रोड वान बेल्ट अवधारणाले हामीलाई सहकार्य र साझेदारीका असाधारण अवसर दिएको छ’, उनले भने, ‘म यो अवधारणाका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिन चाहन्छु ।’ नेपाल प्राचीनकालमा सिल्क रुटको महत्वपूर्ण मार्ग रहेको स्मरण गराउँदै दाहालले नेपाल मध्यएसिया र दक्षिणएसिया जोड्ने पारवहन बिन्दुका रूपमा रहेको बताए ।

दाहालले नेपाल चीनले अघि बढाएको एसियाली पूर्वाधार विकास बैंकको संस्थापक सदस्य बनेको, नेपाल सांघाई कोअपरेसन अर्गनाइजेसनको डाइलग पार्टनर बनेको र पूर्ववर्ती सरकारका पालामा पारवहन सम्झौतामा चीनसँग हस्ताक्षर गरेको चर्चा गर्दै विगतका दिनमा भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । पारवहनले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा लैजाने बताउँदै उनले सम्झौताको प्रोटोकललाई चाँडै टुंग्याउनु नेपालको प्राथमिकता रहेको बताए । सडक, रेल, हवाई सम्पर्क र वेब लिंकका माध्यमबाट नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउनुपर्ने उनले बताए ।

दुई देशको ऐतिहासिक सम्बन्धमा महत्वपूर्ण मानिने तातोपानी नाका खुलाउनुपर्ने तथा अन्य नाका पनि बिस्तारै खोल्नुपर्ने उनले औंल्याए । नेपाल र चीनबीच साझा समृद्धिका लागि सुरुआत भइसकेको र अबको साझेदारीबाट नेपालको आर्थिक धरातल परिवर्तन हुनसक्ने उनले बताए । नेपालले हालै गरेको लगानी सम्मेलनमा ६० प्रतिशतभन्दा बढी प्रतिबद्धता चीनबाट व्यक्त भएको तथा नेपालमा आउने वैदेशिक लगानीमा चीन नै सबैभन्दा माथि रहेको उनले बताए ।

नेपाल र चीनबीच ऐतिहासिक रूपमा सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै दाहालले भूगोल, सभ्यता, व्यापार र जनस्तरमा सम्बन्ध गाँसिएको बताए । चीनले आर्थिक क्षेत्रमा गरेको चामत्कारिक विकासको उनले प्रशंसा गरे । चिनियाँ नेतृत्वको दूरगामी सोचाइ र जनताको इमानदारीले चीनलाई विश्वको आर्थिक केन्द्रको स्रोत बताएको उनले बताए । ‘अहिले विश्वमै चीनको उचाइ धेरै माथि उठिसकेको छ’, उनले भने, ‘विकासशील मुलुकका लागि चीन प्रेरणाको स्रोत बनेको छ । आर्थिक वृद्धिका लागि चीनको प्रगति उदाहरणीय छ ।’

नेपालले एक चीन नीति अवलम्बन गरेको बताएका प्रधानमन्त्री दाहालले नेपाली भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता जनाए । दुई देशले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी तहमा विभिन्न मुद्दामा सहकार्य गर्दै आएको उनले बताए । नेपाल यतिबेला आर्थिक विकासको चरणमा रहेको र त्यसका लागि चीनको सहयोग महत्वपूर्ण रहने उनले बताए । दाहालले बेइजिङ फरेन अफेयर्स युनिभर्सिटी हातामा निर्मित नेपाल अध्ययन केन्द्रको पनि उद्घाटन गरे 

(आजको अन्नपूर्ण पोस्टमा प्रकाशित )

Comments

comments

Read More