पार्टी एकीकरण अन्तिम तयारीमा, मधेस केन्द्रित ६ दलको नाम – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा

इसरोकार संवाददाता काठमाडौं, वैशाख १ –पार्टी एकीकरणका विषयमा छलफल गर्न मधेसी मोर्चामा आवद्ध ६ वटा दलका शीर्ष नेताको बैठक शुक्रबार बस्दैछ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवास सानोठिमीमा उहाँसहित सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र नेपाल सद्भावना पार्टीका ६ जना अध्यक्षले एकीकरणबारे छलफल गर्न लागेका हुन् ।

शुक्रबारको बैठकमा जतिसक्दो छिटो पार्टी एकीकरण टुंग्गाउने गरि सैद्धान्तिक विषयमा छलफल हुने र पार्टीको नाम, झण्डा, चुनाव चिन्ह लगायतबारे टुंगो लगाउन समिति बनाइने सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिनुभयो ।

मोर्चाका नेताहरुका अनुसार नयाँ पार्टीको नाम ‘संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा’ राख्ने विषयमा सबै शीर्ष नेता सहमत देखिएका छन् । त्यस्तै चुनाव चिन्ह अहिलेकै कुनै दलको राख्ने वा ६ वटै दलको नराखि नयाँ राख्ने, र सबै दलका चुनाव चिन्ह गोलाकार भित्र राखेर नयाँ पार्टीको लोगो बनाउने मोटामोटी सहमति भइसकेको नेताहरुले बताएका छन् ।

झण्डा चुनाव चिन्ह लगायत विषयमा यहि हुनुपर्छ भन्ने दावी विरोध कसैको पनि नभएको  महासचिव सुमनले जानकारी दिनुभयो । त्यस्तै सबै दलका शीर्ष नेता रहेको अध्यक्ष मण्डल बनाएर सामुूहिक नेतृत्वको अवधारणामा पार्टी सञ्चालन गर्नेगरि खाका बनाउने काम चलिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

मधेस केन्द्रित राजनीति गर्दै आएको संघीय समाजवादी फोरम बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा समाहित हुने लगभग पक्का जस्तै भएको छ भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध छैन ।

Comments

comments

Read More