खरिदकर्ताको चाप अधिक हुँदा झण्डै एक घण्टा एकाएक किन बन्द भयो सेयर कारोबार ?

इसरोकार संवाददाता बैशाख १०, स्थानीय निकायको निर्वाचन हुने पक्का भए पछि आइतबार एकाएक खरिद कर्ताको चाप बढ्यो । बजार खुलेको १० मिनेटमा नै पहिलो पटक सर्किट लागेर १५ मिनेट पछि कारोबार खुल्दा पनि केही सेयर दलालले भने बजारमा के भईरहेको छ भन्ने सुइँकोसम्म पनि पाएनन् । त्यसको केही बेर पछि समस्या भएको थाहा भए पछि स्थगित गरिएको सेयर कारोबार अहिले सुचारु भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज्सँगको नेटवर्कमा रहन अहिले सबै सेयर दलालहरुले वेबसर्फरको सेवा लिंदै आएका छन् । बजार खुलेदेखि नै केही सेयर दलालकोमा वेबसर्फरको नेटवर्कमा आएको खराबीले सेयर कारोबार हुन सकेन ।

केही सेयर दलालकोमा मात्र भएको सेयर कारोबारका कारण धेरै लगानीकर्ताले बजारमा आफुले चाहेको समयमा सेयर किन्न अनि बेच्न पाएनन् ।

चौतर्फी रुपमा नेटवर्किगंमा आएको समस्याको चर्चा भए पछि नेप्सेले झण्डै ४५ मिनेट पुर्ण रुपमा सेयर कारोबार स्थगित गर्यो । नेप्सेका अनुसार वेबसर्फरमा आएको नेटवर्किंगका कारण सेयर कारोबार स्थगित गरिएको थियो । अहिले सबै ब्रोकरहरुले सेयर कारोबार सुचारु गरेका छन् ।

इन्टरनेट सेवाप्रदायक कम्पनी वेबसर्फरले नेटवर्किगंमा लुपको समस्या आएका कारण ब्रोकरहरुको सम्पर्क विच्छेद भएको जनाएको छ । उसले समस्याको पहिचान भएर कारोबार सुचारु भैसकेको जनाएको छ ।

पुर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वायनमा आउने पुर्व सन्ध्यामा देखिएको यो प्राविधिक समस्याले सेयर कारोबारमा संलग्न सबै पक्षका बिचमा वैकल्पिक नेटवर्किगंको व्यवस्था गराउनु पर्ने देखिएको छ । यस्तै प्राविधिक समस्याका कारण एउटा रफ्तारमा अघि बढेको बजारको गति परिवर्तन हुन सक्ने भएकाले पनि लगानीकर्ताको हीतमा यस्तो व्यवस्था गर्नु पर्ने हुन्छ ।

Comments

comments

Read More