यी हुन् धराहरा बाट सँगै खसेका जोडी,

इसरोकार संवाददाता वैशाख १२ गते दिउँसो ११ः५६ मा धरहराको बार्दलीमा सञ्जीव र रमिलाका पाइला पर्नेबित्तिकै भूमरी परेर हावा ‘स्याइँय’ गर्दै आएको थियो। त्यो हावाले कपाल र अनुहारमा छोएर जाँदा लागेको काउकुतीको अधुरो महसुस अहिले पनि उनीहरूलाई हुन्छ। धरहरामुनिको पृथ्वी मडारिएर आएको पो रहेछ, चटट्ट आवाज निकाल्दै धरहरा ढल्किएको थियो। कहिलेकाहीँ सपनामा सञ्जीव धरहराबाट खसिरहेको देख्छन्! आत्तिँदै उठ्दा आफूलाई विस्तारामै भेटेपछि ढुक्क हुन्छन्।

उनलाई घरिघरि फेरि भुइँचालो आउँछ कि भन्ने डर लागिरहन्छ। रमिलालाई पनि यस्तै हुन्छ। घरि सपना, घरि झझल्कोमा भुइँचालो आइरहन्छ। उनीहरू धरहराबाट खसेको एक वर्ष पुग्न लागेको छ। रमिला त अझै उठ्न सकेकी छैनन्। धरहराबाट खस्दा रमिलाको बायाँ खुट्टा भाँचिएको थियो। सञ्जीवको बायाँ हात। केही हप्ताअघि डाक्टरले सञ्जीवलाई अब सञ्चो भएकोले पहिलेजस्तो काम गर्न अनुमति दिएका छन्। रमिलाको खुट्टा दोस्रोपटक अप्रेसन भएको छ।

गएको वैशाख १२ सम्म रमिलाले धरहरा देखेकी नै कहाँ थिइन् र, स्कुलमा धरहराबारे सुन्दैदेखि त्यसको टुप्पोबाट काठमाडौँ हेर्ने रहर पालेकी थिइन्। वैशाख १२ गते शनिबार सञ्जीवको छुट्टी परेकाले उनलाई भेट्न बल्खुबाट रमिला बसन्तपुर हानिइन्। ललितपुर गएर फिल्म हेर्ने योजना बनाउँदै हिँडेको बेला बाटैमा धरहरा देखिन्। ‘धरहरा चढ्ने,’ उनले भनिन्।

उनको बचन सञ्जीवले काटेनन्। धराहरा पुगे, टिकट लिएर माथि उक्ले। धरहराको टुप्पोमा पुग्दा रमिला दङ्ग पर्दै काठमाडौंको झलक नियाल्दै थिइन्। त्यहीबेला ‘स्याइँय’ गर्दै बतास चल्यो। बतासले अनुहारमा काउकुती लगाउँदै भागेको थियो। सञ्जीव पनि आइहाले। तर त्यो घुमेर आएको बतासजस्तो चिज थामिएन। रमिलाले चपक्क रेलिङ समातिन्, सञ्जीव थुचुक्क बसे। धरहरा खटट्ट गर्दै ढल्कियो।

अनि सिधा खस्यो। हावा चलिरहेकै जस्तो भएको थियो। उनीहरूले होसै पाएनन्। भुइँमा पछारिएपछि पनि सञ्जीवले रमिलालाई सोधेका थिए, ‘के भएको?’ धरहरा भाँचियो भन्ने होसै थिएन, रमिलालाई। उनीहरू घरि होसै गुमाउँथे घरि ब्यूँझिन्थे। पहिलोपल्ट धरहरा चढेकी रमिला कल्पनै गर्न सक्दिनन् थिएन् कि धरहराबाट काठमाडौँ हेर्ने रहरले आफूहरूलाई धरहरा भाचिँदाको साक्षी बनाउला भनेर। केहीबेरमा प्रहरी आएर दुबैलाई अस्पताल लगेको थियो। त्यसपछि मात्रै थाहा भएछ, सञ्जीवको बायाँ हात र रमिलाको बायाँ खुट्टा भाँचिएछ। सञ्जीवको उपचारमा धेरै समय खर्चिनु परेन। तर रमिलाको खुट्टाको अप्रेसन गरेर फलामको रड राख्न धेरै समय लाग्यो।

सञ्जीव डिस्चार्ज भएर रामेछाप आफ्नो गाउँ पुगिसकेका थिए। रमिला भने दसैंँताका मात्रै घर पुगिन्। दुबैका घर चर्किएका थिए। पालको बास थियो। उनीहरूले त्यहीँ दसैं–तिहार मनाए।

सञ्जीव काठमाडौँ–रामेछाप ओहोरदोहोर गरिरहन्छन्। भुइँचालोअघि रेष्टुरेन्टमा काम गर्थे। हातले राम्रोसँग काम गर्न नसक्ने भएपछि छोडेका थिए। पढाइ पनि छुटिसकेको थियो। ‘केही काम छैन काठमाडौँ बस्दाबस्दै दिक्क लाग्छ र घर जान्छु। त्यहाँ पनि छटपटी हुन्छ र काठमाडौँ फर्किन्छु,’ उनले भने। काठमाडौंमा उनी दाइ–भाउजुसँग बस्छन्। अस्पतालको लामो बसाइपछि रमिला भदौमा घर पुगिन्। खुट्टा सन्चो भएकै थिएन। हिँड्नुप¥यो भने वैशाखीको सहारा लिनुपथ्र्यो। डाक्टरले धेरै नहिँड्न भनेका थिए। स्कुलका साथी आउँथे, गाउँभरि भुइँचालोमा के–के भयो सुनाउँथे।

उनले पनि त्यति अग्लो धरहरा कसरी खस्यो सुनाउँथिन्। यता, जति आराम गरे पनि उनको खुट्टा निकै हुन्नथ्यो। साथीहरू स्कुल गएको देखेर रमिलाको मन कुँडिन्थ्यो। ‘सपनामा स्कुल गएको देख्छु धेरै, भुइँचालो आएको भन्दा बढी,’ दोस्रोपटक खुट्टाको अप्रेसन गर्न ट्रमा सेन्टर आएको बेला उनले भनिन्। माघमा जँचाउन रमिला काठमाडौं आइन्। उनी हिँड्न सक्ने अझै भएकी थिइनन्। फेरि अप्रेसन गर्नुपर्छ भनेर डाक्टरले सुझाए। ***

‘हाम्रो उपचारमा लापरबाही गर्यो अस्पतालले,’ बसन्तपुरका भग्नावशेष हेर्दै एक दिन सञ्जीवले भनेका थिए। बसन्तपुरको त्यही डबलीको बाटो उनीहरू धरहरा चढ्न गएका थिए। आफ्नी प्रियसीको खुट्टा अझै चल्दैचल्दैन! उनलाई घरिघरि डाक्टरले लापरबाही गरिदिए कि भन्ने शंका लाग्छ। उनको मनको राँको आँखामा प्रष्टै देखिन्थ्यो।

‘उसलाई (रमिला) अस्ती जाँच्न आउँदा भूकम्पपीडित भनेर दिएको कार्ड नै अस्पतालले हराइदिएछ,’ उनले भने, ‘खुट्टा त निको भइसकेको छैन। त्यसमाथि त्यो कार्ड हराए कसरी अप्रेसन हुन्छ? कसरी भूकम्पपीडित भनेर विश्वास दिलाउने?’ धन्न, उनी अर्कोपटक कार्ड लिन जाँदा भेटिएछ। अस्पतालमा केही बुझ्नुप¥यो भने रमिलाका बुबा र भिनाजुले फोन गरिरहन्छन् सञ्जीवलाई।

त्यसपछि उनी हतारिँदै ट्रमा सेन्टर पुग्छन्। भदौदेखि माघसम्म त उनीहरू भेट हुनै पाएनन्। फोनबाट सन्चो–बिसन्चो सोध्थे, त्यति हो। जब सञ्जीवले रमिलालाई बैशाखीको सहारामा हिँडिरहेकी देखे, अनि उनको मनमा पीरको राँको बलेको थियो। ‘सधैँभरि यस्तै पो हुने हो कि,’ बसन्तपुरमा महिना दिनअघि उनीले सुस्त आवाजमा भनेका थिए, ‘वर्ष दिनमा पनि ठिक हुँदैन।’ दुई हप्ताअघि रमिलाको फेरि अप्रेसन भएको छ।

‘पहिले औषधि पनि निःशुल्क थियो, अहिले भने बाहिरबाट किन्नप¥यो,’ सञ्जीवले भने, ‘हामीलाई निःशुल्क हुनुपर्ने होइन र?’ डाक्टरहरूले केही आदेश छैन भन्छन् रे। ट्रमा सेन्टरका निर्देशक प्रमोद उपाध्यायले आफ्नो फार्मेसी नभएकाले बिरामीले बाहिरबाट किन्नु परेको बताए। ‘हामीले भूकम्पपीडितको कार्ड देखाए सबै उपचार निःशुल्क गरिदिन्छौँ, औषधि पनि हामीसँग भएको सबै निःशुल्क दिन्छौँ। हो, केही औषधि हामीसँग छैनन्, त्यो बिरामीले नै किनेर ल्याउनुपर्छ,’ उनले भने। पछिल्लो अप्रेसनपछि रमिला डिस्चार्ज भएर घर गएकी छन्। सञ्जीवले काम खोज्दैछन्। भुइँचालोले धरहरासँगै ढालेपछि उनीहरू फेरि तङग्रिन खोज्दैछन्। ‘एक वर्ष यसै बित्यो,’ सञ्जीवले भने, ‘अब त केही न केही गर्नुपर्छ।’ रमिलाले पनि यो वर्ष त जसरी पनि स्कुल जाने सोचेकी छन्।

Comments

comments

Read More