१४ वर्षपछि आफन्तको सम्पर्कमा १७ वर्षको कमाइ ३० हजार

मलेसियामा गुमनाम जिन्दगी बिताइरहेका ओखलढुँगा, मुलखर्कका जीवन तामाङले पहिलो पटक नेपालमा आफन्तहरुलाई फोन सम्पर्क गरेका छन् । विभिन्न गैर सरकारी सँघ-सस्थाका प्रतिनिधिले उनका आफन्तहरुको खोजी गरिदिएपछि यो सम्भव भएको हो ।

जीवन सन् २००१ मा मलेसिया पुगेका थिए । तीन वर्षसम्म घर परिवारसँग उनको सम्पर्क कायमै थियो तर, चौध वर्ष यता उनी ‘बेपत्ता’ थिए । ‘दाजुलाई धेरै ठाउँमा खोजियो, पत्ता लागेको थिएन’ मुलखर्कका शेरबहादुर तामाङले फोनमै खुशी व्यक्त गरे, ‘अव तपाईहरु सवै मिलेर उहाँलाई घर फर्कादिनुपर्‍यो ।’

गाउँकै जेदु तामाङ पनि सानैदेखि चिनेको हितैसी जीवनसँग कुराकानी गर्न पाएकोमा खुशी छन् । ‘उनीसँग वोल्दा निकै खुसी छौं, नेपाल र्फकन हवाई टिकटको प्रवन्ध गर्नेछौं’ जेदुले भने ।

रोजगारीका सिलसिलामा मलेसिया आएका जीवनले करीब आठ वर्ष अनकन्टार जँगलमा खेतीपाती गरेर बिताएका रहेछन् । त्यहाँवाट भागेर अर्काे ठाउँमा काम गर्न थालेको पनि पाँच वर्ष भइसकेको रहेछ । यसवीचमा उनले कुनै पनि नेपालीलाई देख्न र कुराकानी गर्न पाएनन् ।

गत बिहीबार (अक्टोबर १०) मा एक नेपालीको सहयोगमा उनी मलेसियाको राजधानी क्वालालम्पुरसम्म आइपुगेका हुन् ।

आफूलाई कसले क्वालालम्पुर ल्याइपुर्‍यायो भन्नेसमेत उनलाई थाहा छैन । ‘खै कसले ल्यायो थाहा भएन । केही मानिसहरुले वसमा चढाई दिए । झरेपछि लिन आउँछन् भने । त्यहि भएर आएको हुँ’, जीवनले भने ।

क्वालालम्पुरमा झरेपछि उनी छक्क परे । ठूलठूला घरहरु देखेर अचम्म मात्र परेनन्, आफूले काम गरिरहेको ठाउँभन्दा विलकुल अलग्गै संसारमा आएको उनलाइ महसुस भयो ।

नेपालीले खोलेको होटलमा खाना खाँदा उनी झन् छक्क परे ।

यतिवेला जीवन नेपाली भन्दा पनि मलायु भाषा राम्ररी वोल्नसक्ने भएका छन् । पछिल्ला दिनहरुमा उनी बातु ओराङगमा रहेको एक फर्निचर कम्पनीमा काम गरिरहेका रहेछन् ।

‘कम्पनी मालिकको नम्वर कति हो ?’ भनेर सोध्दा उनले त्यो पनि वताउन सकेनन् ।

कम्पनीको भिजिटिङ कार्ड दिँदै भने, ‘म यहि काम गर्छु ।’

सत्र वर्षअघि…

ओखलढुँगा मुलखर्क गाविस-२ वाद्रेमा बुबा टोकने तामाङ र आमा रमकली तामाङका दुई सन्तानमध्ये जीवन कान्छा छोरा रहेछन् । उनी पाँच वर्षको हुँदा बुबाको देहावसान भयो । त्यसैबेला आमा पनि उनलाई छाडेर अर्कै पुरुषसँग गइछन् ।

सानैमा टुहुरोजस्तै भएका जीवन र उनकी दिदीलाई मामा अर्जुन तामाङले हुर्काए । दिदीको बिहे गरिदिए ।

आमा बाबुको उचीत स्याहार सुसार र रेखदेख नपाएकाले जीवनले खासै पढन पाएनन् । उनका लागि कालो अक्षर भैँसी बराबर । अहिले पनि एकदेखि सयसम्म गणना गर्न सक्दैनन् । यही कारण उनलाई अहिलेसम्म आफ्नो उमेरसमेत थाहा छैन ।

हजूरआमा भुत्लेनी तामाङले ‘तँ यति वर्षको भइस्’ भनेको उनलाई अली अली सम्झना छ । मलेसियामा आईसकेपछि वल्लतल्ल फोनमा रिलोडसम्म गर्न जान्ने भएका छन् । त्यसवाहेक कुनै पनि अक्षर उनी पढन र लेख्न सक्दैनन् ।

जीवनले मामाघरमै वाल्यकाल विताए । ठुलो भएपछि पोखरा पुगे । त्यहाँ उनले घर वनाउने ठाउँमा करीव डेढ वर्ष जति मजदुरी गरे । पोखरावाट र्फकेपछि मामासँगै उनी भारतको जम्मु कस्मीर पुगे, जहाँ इटा वनाउने फ्याक्ट्रीमा काम गरे ।

केही समयपछि मामासँग जीवन फेरि आफनै जन्मभूमि फर्किए । घर आउँदा दिदीको बिहे भइसकेको थियो । मामाले उनको पनि बिहे गराईदिए ।

भान्जाले विदेश गएर केही गर्लान् भनेर पासपोर्ट वनाईदिए । पैसासमेत जोडजाम गरेर सन् २००१ सालमा उनलाई मलेसिया पठाइदिए । जीवनले क्वालालम्पुर नजिकै रहेको वान्तिङको एक फर्निचर कम्पनीमा काम गर्न थाले ।

घरवाट हिड्ने वेलामा जीवनकी श्रीमती विमला गर्भवती थिइन । मलेसियामा हुँदा नै उनले आफु छोराको बाबु बनेको खबर पाए । साथीभाईसँग खुसी साटे मनाए । छोराको नाम ‘धनबहादुर तामाङ’ राखियो भनेर साथीभाइलाई पनि सुनाए ।

अनि आफूले त्यतिबेला कमाएको ३० हजार रुपैयाँ श्रीमती विमलाको नाममा पठाए ।

यसरी टुटयो सम्पर्क

पहिलो कम्पनीमा काम गर्दासम्म घर-परिवारसँग जीवनको फोन सम्पर्क कायमै थियो । उनले श्रीमतीको नाममा पैसासमेत पठाएका थिए । तर, जब उनी पेराक पुगे, साथीहरुले टेलिफोन नम्वर टिपिदिएको उनको डायरी हरायो ।

पढ्न लेख्न जानेको भए अन्य कुनै माध्यमबाट स्वदेशमा सम्पर्क गर्नसक्थे होला । तर, त्यो उनका लागि सम्भव नै भएन । अनि उनी सम्पर्कविहीन वन्नपुगे ।

आजजस्तो छयाप्छयाप्ती मोवाइल त्योवेला थिएन । नपढेका कारण नेपालको नम्बर सम्झन पनि उनले सकेनन् । उनीसँगै तीनजना मात्र इण्डोनेसियन कामदार पनि थिए, जसलाई उनी घरमा सम्पर्क गराईदिन अनुरोध गर्थे ।

तर, कसैले पनि उनलाई सहयोग गरेनन् । जीवनको फेसबुक अकाउन्ट रहेछ तर, उनलाई चलाउन भने आउँदैन । उनी आफूले कहिल्यै पनि अपडेट गर्दैनन । इण्डोनेसियाका साथीहरुले खोली दिएको फेसबुकमा नेपाली साथी छैनन् ।

फेसबुक चलाउन नजानेपछि कसरी कुरा हुन्छ त साथीहरुसँग ? ‘भ्याईस म्यासेज पठाउँछु । भ्वाइसमै कुरा हुन्छ’ उनले भने ।

अनकन्टार जँगलमा आठ वर्ष

सँगै मलेसिया आएका साथीहरु कता गए जीवनलाई थाहा भएन । उनी भने तीन वर्षपछि पनि नेपाल फर्किएनन् । इण्डोनेसियन साथीसँगै पेराकको जंगलमा काम गर्न पुगे ।

जंगलकोबीचमा खेतीपाती गर्ने ठाउँ रहेछ । स्थानिय तामिल समुदायमा रहेर खेती किसानीको काम गर्न थाले । उनी तरकारी लगाउँथे, साहुले वेच्न लैजान्थे । काम गरेको ज्यालासमेत उनले कहिल्यै पनि पाएनन् । आज दिन्छु भोलि दिन्छु भन्दाभन्दै आठ वर्षसम्म काम गरे तर, फुटेको कौडी पाएनन् ।

जंगलमा काम गर्नुपर्दा निकै कष्ट भएको जीवनले बताए । ‘मालिकले बनाइदिएको सानो छाप्रोमा वस्नुपथ्र्यो । बत्तिको कुनै सुविधा थिएन । टुकी वाल्नुपथ्र्यो’, जीवन भन्छन् ।

पानी चाँही मेशिन लगाएर जमिन मुनीवाट निकालिन्थ्यो । त्यहि पानीबाट सिचाई हुन्थ्यो र त्यहि पानी उनले खानुपथ्र्यो । बजार कस्तो थियो उनले कहिल्यै देख्न पाएनन् ।

लगाउने कपडा साहुले नै ल्याईदिन्थे । कहिलेकाँही साहुुको मन उदार भयो भने मासु बोकेर आउँथे ।

सुकुम्वासीको जस्तो बसाइ थियो । तैपनि यति लामो समयसम्म त्यहाँ वस्दा एकदिन पनि उनले विरामी हुनु परेन ।’सामान्य टाउको दुख्दा साहुले औषधि ल्याईदिन्थे, उनले भने ।

सुरुसुरुमा जंगलमा वस्दा निकै डर लाग्थ्यो, पछि आफनै घरजस्तै भयो । तर, उनी त्यहाँ एकप्रकारले ‘बन्धक’ झैं थिए र उन्मुक्ति चाहन्थे । ‘म भागेर वाहिर निस्कन चाहन्थे तर, जंगलमा भएकाले चाहेको बेलामा भाग्न सकिन’, जीवनले भने ।

स्थानिय तामिलहरुले पनि ‘वाहिर जान पाउँदैनस्, गइस् भने पुलिस लगाएर तँलाई जेल मै सडाउँछु’ भनेकाले उनले भाग्ने हिम्मत गर्न सकेनन् ।

साहुले अर्को चलाखी गरे ।

‘तेरो भिसा बनाउन यति पैसा लाग्छ’ भन्दै साहुले पैसा काटिरहे’, उनले भने, ‘म सोझो हुँदाको फाईदा मलेसियाका साहुहरुले लिए ।’

आठ वर्षपछि वल्लतल्ल इण्डोनेसियन साथीले रातीको समयमा उनलाई त्यहाँबाट भएका रहेछन् ।

सत्र वर्षको कमाइ ३० हजार

१७ वर्ष मलेसिया वस्दा जीवनले ३० हजार रुपैयाँ भन्दा बढी कमाउन सकेनन ।

आठ वर्ष जंगलमा काम गर्दा त एक पैसा पनि पाएनन् । पछिल्लो समयमा काम गरेको ठाउँमा कमाएको पैसासमेत घर पठाउन नपाएकाले खाएरै सिध्याए ।

‘पैसा बचाउन सकिएन, खर्च भयो’, उनले भने । कमाएको केही रकम स्थानिय तथा अन्य देशका साथीहरुलाई दिए ।

जे भने पनि ‘हस’ भन्ने वानी नै उनको सबैभन्दा ठूलो कमजोरी भएका उनका साथीहरुले बताए ।

धेरैलाई लाग्दो हो जीवनले घर परिवार विर्सिएका होलान् । तर, उनले परिवार विर्सिएका छैनन् ।

‘मलेसियाकै केटीसँग घरजम गरेर बस्यो कि ?’, भन्ने आशँका पनि गरियो । तर, उनी त्यसतर्फ लागेका रहेनछन् ।

यत्तिका वर्ष बस्दा कुनै गर्लफ्रेण्ड थिएनन् ?

‘त्यतापट्टी ध्यानै गएन’, उनले भने ।

अब नेपालमै नयाँ जीवन

जीवनलाई आफनै जीवन पशुको जस्तै लाग्न थालेको छ । सोझो भएको कारण सवैले आफूलाई यो अवस्थामा पुर्‍याएको उनको ठम्याई छ । तर, उनले हरेश भने खाएका छैनन् । ‘धेरै सपना वोकेर आएको थिएँ तर, सपना पुरा भएन’, उनले भने ।

उनका छोरा समेत १७ वर्षका भइसके । श्रीमती छन् या छैनन् त्यो उनलाई थाहा छैन । ‘भए पनि ठिकै, नभए पनि सहनु त पर्‍यो नि’, उनले भने, ‘अव फेरि नेपाल पुगेर  नयाँ जीवनको शुरुवात गर्ने हो ।’

Comments

comments

Read More