समाजसेवी आमा सुस्मिता भन्छिन् मान्छे जन्मे पछि आफैले गर्ने भनेको त सेवा र धर्म नै हो

पुस १३ दिउँसको ठीक २ बजे । टोकियो रोधी क्लव, टोकियो । परबाट हँसिलो अनुहारकी उनी मुस्कुराउँदै आइन–नमस्ते दाई । म पनि लमजुङ कै चेली त हुँ नि । उनी थिईन सुस्मिता फाउण्डेशनकी अध्यक्ष तथा कराँते खेलाडी सुस्मिता तामाङ्ग । मलाई उनको बारेमा अलिअलि थाहा थियो । उत्तरमा मैले भनें–‘लमजुङकी चेली होइनौ, तिमी त नेपालकै चेली हौ ।’ उनको मुहारमा अपनत्वको भाव झलक्कै झल्कियो । त्यसदिन दाइ बहिनीले संगै लन्च खायौं । साँच्चै उनी लमजुङ्गकी चेली मात्र होइनन् उनी त नेपालकी नै चेली हुन ।
जहॉ असय हुन्छ त्यहॉ पुगेर केही न गरेकी नै हुन्छनि । उनको संरक्षणमा रहेका सबै बालवालिकाहरुले उनलाई आमा भनेर सम्बोधन गर्छन । दुःख पाएर पढ्न लेख्न नपाएका वालवालिकाहरुलाई पढाईलेखाईको मेसोमेलो मिलाउँछिन उनी । बाजेको समाजसेवाबाट आफू समाजसेवाप्रति प्रेरित भएको बताउने उनलाई हरेकको सुखदुःखमा साथ दिन मन लाग्छ । कलिलो उमेरमै अब्बल समाजसेवीको पंक्तिमा दरिएकी उनी चाहे वाढीपहिरोले लथालिङ्ग पारेको ठाउँमा होस् या त भूकम्पले तहसनहस पारेको ठाउँमा उपस्थिति जनाइहाल्छिन् । सहयोगी भावनाको तामाङ्ग आफूले सक्दो सहयोग गर्न कत्ति पनि कन्ज्यूस्याँई गर्दिनन् । उनको हातमा हात मिलाएर विदेशमा कार्यरत केही मनका धनी नेपालीहरुले पनि साथ दिएका छन् । कहिले खेलाडीको रुपमा त कहिले फाउण्डेशनको कामले उनी आधा सय देश पुगिसकेकी छिन् ।
ब्रिटिस सैनिकमा कार्यरत लाहुरेसँग विवाह गराएर लाहुरेनी बनाउन धेरै कोशिस गरे उनको बाबाले तर उनी लाहुरेनी नभई अब्बल समाजसेवी भएर निक्सिइन् । मान्छे जन्मेपछि गर्ने भनेको सेवा र धर्म नै हो । जन्म अरुले नै दिन्छन्, नाम पनि अरुले नै राखिदिन्छन् अनि अन्तिम पटक चितामा पनि अरुले नै लिएर जान्छन् भने हामी आफैले गर्ने भनेको त सेवा र धर्म नै त हो नि–उनले भाबुक हुँदै भनिन । तेस्रो पटकको जापान भ्रमणमा रहेकी उनी जापानीहरुबाट नेपालीले सिक्नुपर्ने कुराहरु धेरै भएको बताउँछिन् । जापान किन अहिलेको जापान भएको छ भन्ने कुरामा यहाँका नागरिकहरुको मेहनतमा दुुईमत नभएको उनी बताउँछिन । देशलाई मायाँ गर्ने जापानको नेता तथा नागरिकहरुबाट नेपालबाट जापान भ्रमण गर्ने नेताहरु र जापानमा रहेका नेपालीहरुले पनि सिक्नुपर्ने उनले बताइन ।
तपाइँलाई नेपाल सरकारको तर्फबाट कत्तिको सहयोग छ त भन्ने प्रश्नमा उनले केही नभएको बताइन । कसैले केही गरिदिन्छ कि भनेर आशा गरेर पर्खनुभनेको आफ्नो गन्तव्य पथमा अलमलिनु नै हो भनेर भन्छिन् । पटकपटकको सरकार परिवर्तनले कुनैपनि क्षेत्रमा विकासको निकासा दिन नसक्ने उनको ठम्याई छ । आफूले गर्नुपर्ने धेरै कुरा छ र सबैलाई उमेर छँदै केही गर्न सुझव दिन्छिन उनी । २ घण्टा बसाईको भलाकुसारीमा उनले भनिन म मेरो वर्कतले भ्याएसम्म समाजसेवामा नै तत्लीन हुन्छु । म अन्यायमा परेकाहरुको लागि सँधै लडिरहन्छु यसको अर्को विकल्प छैन ।

Comments

comments

Read More