गौरादहको ठेक्का-पट्टामा मनोमानी / स्थानीयहरु रुष्ट

Esarokar समाचार

२३ माघ , सान नेपाल । गौरादह नगरपालिका भित्रका निर्माण सम्बन्धि ठेक्का पट्टामा अनियमितताले चरम रुप लिदै गएको गुनासो बढ्न थालेको छ । गौरादह डिपु स्थित विद्युत प्राधिकरण अगाडी बाट बरगाछी हुँदै मसानघाट सम्म जाने ६ कि मी लामो सडकमा कुनै प्रक्रिया नै पूरा नगरी ठेक्का सम्झौता गरिएको स्थानीयले गुनासो गरेका छन । ३ नम्बर वडामा पर्ने यो सडक स्ट्यान्डर्ड ग्राभेल गर्ने सम्झौता गरि ठेक्का-पट्टा गरिएको भएता पनि वडा कार्यालयले सामान्य टेन्डर समेत आह्वान नगरी मनोमानी ढंगले निर्माण अनुमती दिएको भन्दै स्थानीयले गम्भीर आपत्ति प्रकट गर्न थालेका छन ।

नगर प्रमुख रोहित साह यस बारेमा आफुलाइ पर्याप्त जानकारी नरहेको बताउनु हुन्छ । वहाँ भन्नुहुन्छ- वडा कार्यालयको रोहवरमा भएको निर्माणकार्यमा नगरपालिकालाई सबै कुरा जानकारी हुदैन । वडा अध्यक्षको निर्देशनमा नै ठेक्का सम्झौता भएको हुनुपर्छ । यद्यपि टेन्डर आव्हान नगरी मनोमानी ढंगले ठेक्का दिइनु लोकतान्त्रिक विधि हुँदै होइन, यो अत्यन्तै गलत कदम हो ।

गौरादह पोखरी पर्यटन बिकास समितिको पुरानो कार्य समिति बिगठन गरि नयाँ समिति निर्माण गरिएको कुराले बिस्तारै चर्को रुप लिदै गएको छ । वडा नं. १ को अगुवाइमा भएको नयाँ कार्य समितिमा भरत फुयाल अध्यक्ष घोषणा गरिएका छन भने सचिवको जिम्मेवारी बिरेन्द्र बस्नेतलाई प्रदान गरिएको छ । दुई बर्षे कार्यकाल समाप्त गरेका पुर्व अध्यक्ष यादवराज सेढाइ आफुलाई पत्तै नदिइ समिति बिगठन गरिएको बताउनुहुन्छ । पोखरी निर्माणमा धेरै अनियमितता हुदै आएको बताउदै सेढाईले पोखरी निर्माणलाई अपारदर्शी र भ्रष्ट चरित्र भएका केही राजनीति अन्धभक्तको हातमा जिम्मा लगाउन नसकिने बताउनुभयो । वहाँ भन्नुहुन्छ – “ठेक्कापट्टाको नाममा फस्टाउदै गएको बिकृती र विसंगतिले जरा गाड्दै गएको छ । पहुँचवालाको हातमा परे जे पनि हुने रहेछ । कहिले यिनिहरु पोखरी कृषि क्याम्पसलाई हस्तान्तरण गर्ने प्रस्ताव लिएर आउथे त कहिले माछा हाल्नका लागि फलानो व्यक्तिलाई अधिकार देउ ।”

“गौरादहको गौरव र महत्व बोकेको पोखरीको बिकास गर्ने जिम्मेवारी नगरपालिकाको हो, सबैलाई पच्ने र स्वीकार्य हुने समिति गठन गरेर यो आयोजना सप्पन्न गरिने छ”- नगरप्रमुख रोहित साह । ४ जना बसेर मनोमानी ढंगले कल्पना गरिएको समितिलाई नगरपालिकाले अधिकार प्रत्यायोजन गर्न नसक्ने वहाँले थप्नु भयो ।
बल्नै छोडे सोलरहरु –
गौरादहमा जडान गरिएका सोलार बत्तीहरु ६ महिना नपुगी बल्न छोडिसकेका छन । प्रती बत्ति ७० हजार बढीको लागतमा जडान गरिएका सोलारहरु ६ महिना नपुग्दै बिग्रनु बिडम्बनापुर्ण भएको स्थानीयको गुनासो छ । सोलार बत्ति जडान संग सगै त्यसमा नियमित चेक जाँच गरिनु पर्ने हो तर जडान भए पश्चात् कुनै पनि प्राबिधिकको अनुहार देखिएको छैन । प्यानलको धुलो समय-समयमा साफ नगर्नाले पनि सोलार नबल्ने, ब्याट्रीमा पानी चेक गरि राख्नु पर्ने आदि अत्यावश्यक कार्य सोलार बत्ति भित्र पर्दछन । तर यहाँ कुनै कुरामा चासो राखिदैन । सोलार बत्ति जडान गरिएकै समयमा लापरबाही र चलखेल भएको श्रोतको दावी छ ।
नगरपालिकाका प्रमुख-उप प्रमुखलाई पत्तै हुदैन वडा कार्यालय मार्फत अनियमितता र चलखेल रहन्छ । नगरपालिका इन्जिनियरलाई पनि लोभ लालचमा पारेर डकुमेन्टहरु तैयार गरिन्छ कि भन्ने तथ्यको खोजी गरिनुपर्ने देखिएको छ । मेयर-उपमेयरले नियम बमोजिम सहि सिफारिस गर्न नमिल्ने कागजातहरुमा उपमेयरलाइ ललाइ फकाइ सहि गराउने गरिएको छ । कार्यकारी अधिकृतको मात्र सहि चल्ने कार्यबिधी सम्बन्धि प्राबधानको बारेमा थाहा नहुदा कतिपय कागजातमा उप मेयरलाइ सहि गराइनाले पनि समस्या बढेर गएका छन – नगरप्रमुखको चिन्ता ।
बिकास निर्माणकार्य आन्तरिक मिलेमतोमा हुनेगरेको बिडम्बनापुर्ण तथ्य बाहिर नआएसम्म दोष कस्को भन्न सकिदैन यहाँको एउटा बर्ग भित्र निस्सासिएर रहेको बिकास निर्माणको खाकाले कसरी गौरादहलाइ बिकसित गराउन सक्छ ? – सरोकारवालाहरु प्रस्न गर्छन् ।

यहाँ कुनै पनि निर्माणकार्यको जिम्मा नीति नियमको आधारमा गरिएको देखिदैन । जुनसुकै निर्माणकार्यमा भाइ भारदारलाइ खुशी पार्दै मस्ती कर्नरमा बसेर बिकासको खाका तय गर्ने जनप्रतिनिधि बाट बिकासको कुन आसा गर्ने ?
पोखरीको सामान्य सरसफाइको लागि लाखौं बजेट छुट्याउनु पर्ने साहसिक निर्णय गर्न चाहने महासेनानीहरु बाट के आसा र भरोसा गर्ने ? – भर्खरै पोखरी निर्माण समिती बाट हटाइएका यादवराज सेढाईको टिप्पणी ।
“मेरो कम्पनीमा काम गर्ने मिस्त्री छन, डांडाघरे ठुल्दाइको जे सि बी छदैछ, कच्याक्कुचुक पारेर निर्माण गर्दा भइ हाल्छ, ४-५ दिनमा कामको किनारा लाग्छ, ठेक्का उनीहरुलाई नै दिइनु पर्छ”- के यो नीति, नियम र प्रजातन्त्र बोलेको हो ? के यहाँ ४ जनाको लागि नगरपालिका बनाइएको हो ? यो भनाइको आसय के हुन सक्छ ?- स्थानीयहरुको आक्रोस ।
बजेट बिनियोजन गरिनु भन्दा अगाडि नियम र कानुनका कुरा गर्दै हिड्ने जनप्रतिनिधिको पिछा गर्नुपर्ने आवस्यकता रहेको छ । उनिहरु दिनभरि कहाँ जान्छन ? कुन गोप्य भेटघाट रहन्छ ? प्राय जसो जनप्रतिनिधिहरु कार्यालयमा बस्न रुचाउदैनन । घुमफिर र मोजमस्तीमा मात्र रहने जनप्रतिनिधिले नगरवासीको हितमा कहिले काम गर्लान ?

Comments

comments

Read More