रेडियो कान्तिपुरको रोड शो कार्यक्रम ‘रेडियो अन ह्विल्स’ झापाबाट सुरु, दमकमा कमलले यसरी नचाए दर्शक

दमक । रेडियो कान्तिपुरको रोड शो कार्यक्रम ‘रेडियो अन ह्विल्स’ को दोस्रो संस्करण झापाबाट सुरु भएको छ । झण्डै दुई सातासम्म चल्ने ‘रेडियो अन ह्विल्स’ पहिलो दिन आज बिर्तामोड र दमकमा गरियो । प्रचण्ड गर्मीकाबीच बिर्तामोडको मुक्ति चोकमा आयोजना गरिएको कार्यक्रममा दर्शकहरुले राम्रो साथ दिए ।

बेलुका ५ बजे दमकमा सुरु भएको कार्यक्रम दुई घण्टा चल्यो ।कार्यक्रममा गायक कमल खत्री र गायिका माण्डवी त्रिपाठीले धमाकेदार प्रस्तुती दिए । पहिलो स्टेजमा उक्लिएकी माण्डवीले ‘मात लाग्यो मात लाग्यो…’, ‘ढल्क्यो ढल्क्यो…’, ‘टाकन टुकन…’, ‘सिम्पल सिम्पल कान्छिको…’, ‘बारुली कम्मर…’ लगायतका चर्चित गीतहरुले दमकेली दशर्कलाई नचाइन् । लगत्तै स्टेजमा आएका कमल खत्रीले ‘जाउला रेलैमा…’, ‘आत्मामा तिम्रो…’, ‘चोखो माया दिए पुग्छ…’, ‘ म गीत हुँ तिम्रो…’, ‘बोल्दैन तिम्रो तस्बिर…’, ‘गल्ती मेरो होइन…’ लगायतका युवा पुस्तामाझ चर्चित गीतहरु पस्किएका थिए ।

दिउँसोको ३६ डिग्री गर्मीपछि सितल भएको दमकलाई कमल र माण्डवीले पसिनाले दर्शकका लुगा भिज्ने गरी नचाएका थिए । गीत गाउने क्रममा अगाडी सरेर नृत्य प्रस्तुत गर्ने दर्शकलाई रेडियो कान्तिपुरको लोगो अंकित टिसर्टसहितको पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको नेतृत्व रेडियो कान्तिपुरका स्टेशन मेनेजर दिनेश डिसीले गरेका थिए । आफ्ना स्रोताहरुसंग नजिक रहने उद्देश्यले रोड शो कार्यक्रम लिएर देश दौडाहमा निस्किएको डिसीले बताए । उनका अनुसार यो कार्यक्रम मुलुकका विभिन्न १२ शहरमा गरिने छ ।

बिर्तामोड र दमकबाट सुरु भएको रेडियो अन ह्विल्स मंगलबार दोस्रो दिन धरान, इटहरी र विराटनगरमा आयोजना हुनेछ । त्यस्तै नारायणगढ, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा हुँदै काठमाडौं पुगेर समापन हुनेछ । कार्यक्रमलाई एनआईसी एसिया बैंकले मूख्य प्रायोजन गरेको छ । कार्यक्रमका दौरान विभिन्न मनोरञ्जनात्मक खेलहरु प्रस्तुत गरिएको थियो । ती खेलहरुमा उत्कृष्ट भएका दर्शकलाई आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको थियो । कार्यक्रममा रेडियो कान्तिपुरका कार्यक्रम प्रस्तोताहरुको पनि उत्कृष्ट प्रस्तुतीहरु रहेको थियो ।

Comments

comments

Read More