ओखलढुंगामा लाखे जात्रा सुरु

पुष्पा तामाङ्ग
२५ साउन २०७५
ओखलढुंगा, यहाँ नेवारी समुदायको परम्परागत जात्रा लाखे ओखलढुंगामा सुरु भएको छ । हिले जात्रा अन्तरगत हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि आजबाट सदरमुकामका २ वटा गुठीले निकालेका हुन् । जनहित गुठी र पारस्परिक सहयोगी गुठीले निकालेको जात्राले सदरमुकाम बजार क्षेत्र यतिबेला लाखे मय बनेको छ । लाखे पर्वका अवसरमा एक महिनासम्म गाईजात्रा, रोपाईं जात्रा, कृष्णजन्माष्टमीको जात्रा लगायतका बिभिन्न जात्राहरु देखाउने चलन छ । यो पर्व नेवार समाजमा परापुर्वकाल देखिनै मनाइँदै आएको पर्व हो । विशेष गरी नेवार समुदायले मनाउने यो जात्रा मृत्यु संस्कार मध्येको एक पर्व हो ।
यो समुदायमा एक वर्षभित्र दिवंगत आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईको भेषमा सिँगारी बजार परिक्रमा गर्ने गरिन्छ । उनीहरूलाई श्रद्धालुहरूले दुध, फलफुल, चिउरा, रोटी, दहीलगायत अन्न र द्रव्य दान गर्ने चलन चलिआएको छ । यसरी नगर परिक्रममा गर्नले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई बैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ । वर्षभरि दिवांगत भएकाहरुको सम्झनामा गाइजात्रा निकाल्ने समेत चलन छ ।
ओखलढुंगा सदरमुकामका नेवारी सामुदायका युवाहरू आफ्नो संस्कृति र परम्परा जोगाउन जुट्न थालेका छन् । आफ्नो लोप हँुदै गएको संस्कृति र परम्परा जोगाउन सदरमुकामका नेवारी समुदायका युवाहरू जुट्न थालेका हुन् । नेवारी समाजमा विशेष कार्यक्रम र महोत्सव जस्ता विभिन्न कार्यक्रमहरू बाहेक आफ्नो संस्कृती र परम्परा लोप हुँदै गएको भन्दै संस्कृति र परम्परा संरक्षणमा स्थानीय नेवार समुदायका युवाहरू जुटेका हुन् ।
स्थानीय युवाहरू संस्कृति र परम्परा संरक्षणको अभियानस्वरूप लाखे जात्रा प्रदर्शनमा जुटेको स्थानीय युवा प्रविण शाक्यले बताए । शाक्यले विगत १० वर्षदेखि लाखे बनेर नृत्य प्रदर्शन गरेर संस्कृती धान्दै आएका छन् । लाखेनाच अर्थात विभिन्न नाम दिईएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन छ । चलन अनुसार सदरमुकामका युवाहरुले भव्यताका साथ लाखेनाच निकालेर नगर परिक्रमा गरिरहेका छन् । जिल्लाको निशंखे, खानीभञ्ज्याङ,रुम्जाटार लगायतका विभिन्न क्षेत्रमा पनि लाखे जात्रा निकाल्ने चलन छ ।  लाखे जात्रा विशेष गरी नेवार जातिको भए पनि अन्य सबै जाताजातिमा लोकप्रिय नै छ । श्रावण चर्तुदशीका दिनबाट सुरु भएको लाखे पर्व कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले  कंशलाई नाश गरेको दिनमा सकिन्छ । लाखे पर्वका अवसरमा एक महिनासम्म गाईजात्रा, रोपाईं जात्रा, कृष्णजन्माष्टमीको जात्रा लगायतका बिभिन्न जात्राहरु देखाउने चलन पनि छ ।

Comments

comments

Read More