ओखलढुंगामा भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माण नहुँदा पठन पाठनमा समस्या ।।

पुष्पा तामाङ्ग ,
ओखलढुङ्गा साउन २५
ओखलढुंगामा भूकम्पबाट भत्किएका विद्यालय समयमै पुनर्निर्माण नहुँदा पठन पाठनमा समस्या भएको छ । २०७२ वैशाख १२ र त्यसपछिको भूकम्पबाट क्षति भएका विद्यालयहरु तीन वर्ष वितिसक्दा पनि पुनर्निर्माण नहुँदा समस्या उत्पन्न भएको हो । भूकम्प लगत्तै निर्माण गरिएका टिएलसी पनि भत्किएपछि अहिले जिल्लाका अधिकांश विद्यालयको पठन पाठन प्रभावित भएको छ ।
क्षति भएका अधिकांश विद्यालय भवन निर्माणको काम सुरु नै भएको छैन भने सुरु भएको काम पनि विद्यालय व्यवस्थापन समिति तथा निर्माण उपभोक्ता समिति र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण अघि बढ्न सकेको छैन । सरकारले समयमा विद्यालय पुनर्निर्माणको काम नगर्दा पठनपाठन प्रभावित भएको सिद्धिचरण नगरपालिका –१ स्थित तीन पिप्ले आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राधा निरौलाले बताउनुभयो । मोलुङ गाउँपालिका–७ पात्लेको जनकल्याण आधारभूत सहित जिल्लाका संरचना अभाव झेलिरहेका विद्यालयहरुले बहुकक्षा शिक्षण गरिरहेका छन् । दुई देखि तीन वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउँदा सिकाई गुणस्तरीय नभएको शिक्षकहरु नै बताउँछन् । बहुकक्षा शिक्षण गर्दा साना कक्षाका विद्यार्थीलाई अक्षर सिकाउन कठिन हुने शिक्षकहरु बताउँछन् ।
जिल्लाका अधिकांश विद्यालयले अहिले पनि पालमुनी कक्षा सञ्चालन गरिरहेका छन् । अस्थायी शिक्षण सिकाइ केन्द्र निर्माणका लागि समेत पहल गर्न नसकेका र पहुँच नपुगेका विद्यालयहरु गोठ कटेरा भित्रै सञ्चालन भईरहेका छन् । भूकम्पले विद्यालयका भवन सँगै शौचालय पनि भत्काएको थियो । कक्षा कोठाका लागि सामान्य अस्थायी शिक्षण सिकाई केन्द्र निर्माण गरेपनि शौचालय निर्माणमा ध्यान नदिँदा विद्यार्थीहरु मारमा परेका छन् । भत्किएको शौचालय हालसम्म पुनर्निर्माण हुन नसक्दा शौच गर्न समेत समस्या हुने गरेको जनकल्याण आधारभूत विद्यालयकी शिक्षिका मनिषा तामाङ बताउँछिन् । उनका अनुसार विद्यालय उमेरका छात्राहरु महिनावारी भएको समयमा प्याड फेर्ने शौचालय समेत नहुँदा महिनाको ४ दिन विद्यालयमा उपस्थित हुँदैनन् । पात्लेको एउटा विद्यालय यो उदाहरण मात्रै हो, जिल्लाका उत्तरी तथा पश्चिमी भेगका अधिकांश विद्यालयहरुको अवस्था उस्तै छ । सिडा नामक संस्थाले तयार गरेको तथ्यांकले जिल्लाका सबै ३३१ विद्यालय भूकम्पबाट पूर्ण रूपले क्षति पुगेको देखाउँछ ।


जिल्ला शिक्षा तथा समन्वय इकाइले तयार पारेको प्रतिवेदनमा भने केही विद्यालय सुरक्षित रहेको उल्लेख थियो । ईकाई प्रमुख खगेन्द्र श्रेष्ठका अनुसार उक्त तथ्यांक अनुसार भूकम्पबाट ओखलढुंगामा रहेका २६० विद्यालयमा क्षति भएको जनाईएको थियो । कतिपय विद्यालयका केही कक्षाकोठा मात्रै निर्माण गर्नुपर्ने निकर्ष निकालीएको थियो । ईकाइका अनुसार ओखलढुंगामा उच्च मावि २२ वटाको ८५ कोठा, मावि सात वटाको १७६ कोठा, निमावि १३ वटाको १४७ कोठा, प्रावि ६२ वटाको ३४६ कोठा गरी जम्मा ८४ विद्यालयका ७५४ कोठा पूर्ण रुपमा क्षति पुगेको थियो ।
त्यस्तै उच्च मावि २२ वटाको १०४ कोठा, मावि ३७ वटाको १२० कोठा, निमावि ३२ वटाको १०८ कोठा, प्राथमिक ८५ वटाको २५६ कोठा गरी जम्मा १७६ विद्यालयका ५८८ कोठामा आंशिक क्षति पुगेको छ । अन्य उच्च मावि, मावि, निमावि र प्राविका गरी ३५१ कोठामा सामान्य क्षति पुगेको तथ्यांकमा उल्लेख छ । ७० वटा विद्यालयको ७६ वटा शौचालय पनि पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । तथ्याङ्क फरक भएपछि विद्यालय पुनर्निर्माणमा अन्यौलता सिर्जना भएपनि सिडाकै तथ्याङ्क अनुसार पुनर्निर्माण भइरहेको केन्द्रिय आयोजना कार्यन्वयन इकाइ शिक्षा ओखलढुंगाका प्रमुख रेविका अमात्यले बताइन् । उनका अनुसार क्षति भएका विद्यालय मध्ये अहिले सम्म ७० वटा विद्यालयको २४३ कक्षा कोठा बनेका छन् भने विभिन्न विद्यालयको ८४५ कक्षाकोठा निर्माणको चरणमा रहेका छन् ।

 

Comments

comments

Read More