रोजेको मन्त्रालय नपाउदा थापा र गच्छादार सरकारमा गएनन्,

इसरोकार संवाददाता काठमाडौं– राप्रपा र फोरम लोकतान्त्रिकलाई समेत सरकारमा सहभागि गराउने तयारी भएपनि तत्काल ती दलहरुले सरकारमा नजाने संकेत दिएपछि साना दलहरुलाई सहभागी गराएर प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार गरेका छन् ।

दुई साना दलबाट दुई मन्त्री थप गरी बिहिबार मन्त्रिपरिषद् बिस्तार गरेपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल ४३ सदस्यीय पुगेको छ ।

प्रधानमन्त्रीले बिहिबार समाजवादी पार्टीका प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका कुमार खड्कालाई मन्त्रिपरिषदमा सहभागी गराएका हुन् । सिंहले खानेपानी तथा सरसफाइ र खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रीका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन् ।

सिंह कालीकोटका समानुपातिक तर्फका सांसद हुन् भने खड्का पनि कास्कीका हुन् । उनी पनि समानुपातिक तर्फबाटै सांसद बनेका हुन् ।

प्रचण्डले पहिलोपटक आफ्नै पार्टीका कृष्णबहादुर महरा र नेपाली कांग्रसका विमलेन्द्र निधीलाई मन्त्रिपरिषद सदस्यमा समेटेका थिए ।

दोस्रो पटक माओवादीका तर्फबाट अरु मन्त्री थपेर सरकार विस्तार गरेका प्रधानमन्त्रीले तेस्रो पटक कांग्रेसबाट सरकारमा मन्त्री सहभागि गराएका थिए । त्यस्तै चौथो पटक कांग्रेसकै राज्यमन्त्रीहरु थपेका उनले पाचौ पटक साना दलका सांसदलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले राप्रपा र फोरम लोकतान्त्रिकलाई पनि सरकारमा आउन आह्वान गर्दै आएका थिए । तर ती दलहरुले तत्काल सरकारमा नजाने संकेत दिएपछि साना दलहरुलाई सहभागी गराएर प्रधानमन्त्रीले आफु प्रधानमन्त्री भएको झण्डै ६ महिनामा पाचौं पटक मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

संविधान संशोधन प्रस्तावमा सत्ता पक्ष र प्रतिपक्षबीच अंकगणितको खेल तीव्र भइरहँदा प्रधानमन्त्रीले साना दलका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेको चर्चा राजनीतिक बृतमा चलेको छ ।

श्रोतका अनुसार राप्रपा र लोकतान्त्रिक फोरम सरकारमा जान चाहे पनि रोजेको मन्त्रालय नपाउदा रोकिएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको छलफलमा राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सरकारमा सहभागी हुने संकेत दिएका थिए । तर, सरकारमा सहभागी गराउन थापालाई कांग्रेसले र गच्छदारलाई उनकै पार्टीभित्रका नेताहरूले अप्ठ्यारो पारेका पारेको बताइन्छ ।

प्रधानमन्त्री प्रचण्ड थापालाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय र गच्छदारलाई उपप्रधानमन्त्रीसहित सञ्चार मन्त्रालयको जिम्मेवारी दिन तयार थिए । यसो गर्दा प्रधानमन्त्री प्रचण्डपछिको वरीयतामा थापा र गच्छदार पर्ने भन्दै कांग्रेसले नमानेको स्रोतको भनाई छ । अहिले प्रधानमन्त्री प्रचण्डपछिको बरियतामा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि छन् ।

Comments

comments

Read More