तरकारीखेतीबाट महिला आत्मनिर्भर

इसरोकर स. माघ ६- आर्थिक संकटले गुज्रिएका यहाँका एकल महिला घरव्यवहार टार्नकै लागि सीप आर्जनसँगै सामूहिक तरकारीखेतीमा अग्रसर भएका छन् ।

उदयपुरको त्रियुगा, बेल्टारबसाहा र कटारीका महिला हातमुख जोड्न र छोराछोरीको शिक्षादिक्षामा धौंधौं परेपछि यावसायिक तरकारीखेतीमा अग्रसर भएका छन् । यस क्षेत्रका एकल महिला यतिबेला परिवारको पालनपोषण, छोराछोरीको शिक्षादिक्षाका लागि आधुनिक किसिमको कृषि प्रणालीमा अग्रसर भएका छन् ।

एक्लो प्रयासबाट सबै समस्या समाधान गर्न सम्भव नहुने भएपछि एकल महिलाले तीनवटा समूह गठन गरी आत्मनिर्भर बन्न कृषिखेतीमा हात हालेका हुन् । एक वर्षअघि मात्र सदरमुकाम क्षेत्र नजिक रहेको त्रियुगा नगरपालिका–८ वगाहामा मनकामना एकल महिला कृषक समूहमार्फत नमुना कृषि फार्म दर्ता गरेका उनीहरूले १० कठ्ठा जग्गामा सामूहिक तरकारीखेती सुरु गरेका छन् ।

त्यसैगरी जिल्लाको पूर्वी क्षेत्र बेल्टारबसाहामा करिब १० कठ्ठा र पश्चिमी क्षेत्र कटारीमा सात कठ्ठा जग्गा भाँडामा लिएर उनीहरूले मौसमी र बेमौसमी तरकारीखेती लगाएका छन् । मौसमीभन्दा पनि बेमौसमी तरकारी उत्पादन गर्दा मनग्गे आम्दानी गर्न सकिने भएकाले बेमौसमी तरकारीमा जोड दिएको नमुना कृषि फार्मकी सदस्य सृजना बस्नेतले बताइन् ।

उनकाअनुसार वगाहामा यतिबेला मौसमीखेती काउली, बन्दा, भान्टा, खुर्सानी, गाजर, धनिया, साग, टमाटर, प्याजको बिउ, च्याउलगायतका तरकारी उत्पादन गरिएको छ ।

यसका साथै बेमौसमी लहरेखेती काँक्रा, घिरौंला, राजमालगायतका तरकारी लगाइएको छ । पौडेलले मौसमी तरकारीखेतीबाट एक सिजनमा दुई लाखसम्म आम्दानी हात पार्न सफल भएको बताइन् । उत्पादित तरकारी जलजले, देउरी, वगाहा, गाईघाटलगायतका व्यापारिक केन्द्रमा बिक्री हुने गरेको उनको भनाइ छ ।

उत्पादन गर्नसक्दा बजारको त्यति अभाव नरहेको अर्का सदस्य राधादेवी चौधरीले बताइन् । व्यापारी तरकारी खरिद गर्न घरघरमै धाउने गरेको उनको भनाइ छ । पाँच वर्षअघि पति विसन चौधरीको निधन भएपछि आर्थिक संकट परेकाले साथीहरू र संघसंस्थाको सहयोगमा तरकारीखेती सुरु गरेको उनले बताइन् ।

कमाई गर्ने अभिभावकको मृत्यू भएपछि पाँच छोराछोरीको शिक्षादिक्षा र लालनपालनमा समस्या परेका बेलामा तरकारीखेतीले केही सहज भएको उनले बताइन् । उनीलगायत सोही ठाउँकै फेकनीदेवी चौधरी, सिर्जना पौडेल, कल्पना ढकाल, प्रमिला थापाको समस्या पनि उस्तै छ ।
समूहले प्रतिकठ्ठा वार्षिक १० हजार दिने शर्तमा तरकारीखेतीका लागि जग्गा भाडामा लिएको छ । उनीहरूको यस अभियानमा सामुदायिक विकास तथा परिवर्तन केन्द्र (एसीडीसी) नेपाल र जिआरएम इन्टरनेसनल नेपालले साथ दिएका छन् ।

तरकारीखेतीका लागि बिउबिजन, दुई वर्षसम्मको जग्गा भाडादेखि लिएर प्राविधिक सहयोग दुवै संस्थाले गर्ने एसीडीसीका महासचिव राजु तुलाधारले बताए । वगाहा, बेल्टार र कटारी क्षेत्रका एकल महिलालाई कृषिमा आधारित उद्यमशीलताका माध्यमबाट एकल महिलाको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पहिलोचरणमा नमुना कृषिखेती सुरु गरिएको उनको भनाइ छ ।

बजारमा विशाक्त तरकारी बढी आउने भएकाले स्वस्थकर खानाका लागि प्रांगारिक तरकारीखेती सञ्चालन गरिएको प्राविधिक यशोधा मगरले बताइन् । उनले गड्यौंला उत्पादनबाट मल र झारपातबाट औषधिहरू बनाइएको बताइन् ।

आर्थिक अवस्था दयनीय भएका एकल महिलालाई अहिले पनि समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन नआएकाले पुरातन सोच, सामाजिक बन्धन, कुरिती र कुसंस्कारलाई तोड्न र एकल महिला पनि सबल छन् भन्ने देखाउन यस क्षेत्रमा लगानी गरिएको एसीडीसी नेपालका कार्यक्रम संयोजक शशि राई बताउँछन् ।

अहिले पनि समाजमा एकल महिलाले छोएको नखाने, शुभसाइतमा देखापरे साइतै बिग्रियो भन्ने चलन यथावत रहेकाले अन्धविश्वास तोड्न र पुरातन शैलिमा परिवर्तन ल्याउने प्रयास गरिएको उनको भनाइ छ ।

इन्फोउदयपुरको त्रियुगा, बेल्टारबसाहा र कटारीका महिला हातमुख जोड्न र छोराछोरीको शिक्षादिक्षामा धौंधौं परेपछि व्यावसायिक तरकारीखेतीमा अग्रसर भएका छन् ।

Comments

comments

Read More