दमक रबि चिसापानी सडकखण्ड कालोपत्रे हुने निश्चित ( भिडीयाे )

दमक । झापाको दमक र पाँचथर जोड्ने दमक रबि चिसापानी सडकखण्ड कालोपत्रे हुने भएको छ। यो सडकखण्डका लागि २ अर्ब २० करोड रुपैयाँ बजेट छुट्टिने भएसँगै कालोपत्रे बन्ने निश्चत भएको हो।

गत भदौ २९ गते बसेको मन्त्रीस्तर बैठकले सडकको बहुवर्षे ठेक्‍का प्रक्रिया तत्काल अघि बढाउनका लागि स्वीकृति प्रदान गरेको सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगनले जानकारी दिए । उनले सोमबार दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन्।

३४।५ किलोमिटरको यस सडकखण्डमध्ये २५ किलोमिटर सडकखण्डका लागि सो रकम छुट्ट्याइएको अध्यक्ष पुरीले जानकारी दिए। सो रकम इलामको माङसेबुङदेखि चिसापानीसम्मको २५ किलोमिटर सडकखण्डलाई कालोपत्रे स्तरमा स्तरोन्नती गर्न स्वीकृति प्राप्त भएको उनले बताए।

झापा र इलामको सिमानादेखि मर्चेबुङसम्मको करिब ७ किलोमिटर सडकखण्ड भने असार मसान्तमा नै ठेक्‍का लागिसकेको छ। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पुरीले सबै पक्षको पहलमा सडक कालोपत्रे हुन लागेको बताउँदै उनले यस सडकखण्डले पूर्वको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। ु हामीले यसअघि नै ट्रयाक खोलिसकेका थियौं भन्दै उनले भने हाम्रो मुख्य समस्या २५ किलोमिटरको जुन क्षेत्र थियो यसलाई कालोपत्रे गर्न थियो, हामीसँग पैसा थिएन त्यसैले बहुवर्षे ठेक्‍काका निम्ति स्वीकृतिका लागि पहल गरेका थियौं। बजेट आउने सुनिश्चितता भएको छ।

यस २५ किलोमिटर सडकको कार्य प्रारम्भ मन्त्रालयको लागि बिनियोजित बजेट बाटै व्यवस्थापन गर्ने, आगामी आर्थिक वर्षमा यस कार्यका लागि आवश्यक पर्ने बजेटलाई बजेट छलफलकै क्रममा समाबेस गर्ने र कार्य सम्पादन गर्दा बहुवर्षीय ठेक्‍का बन्दोबस्तसम्बन्धी निर्देशिका २०७३ अनुसार गर्नुपर्ने पुरीले बताए।

यस सडकलाई त्रिदेशीय रणनीतिक सडकको रुपमा विस्तार गर्नका लागि पहल भइरहेको समेत उनले बताए। भारतको फत्तेपुर र चिनको घाङलासम्म जोड्ने गरी त्रिदेशीय रणनीतिक मार्ग बनाउनका लागि सम्बन्धित निकायमा प्रस्ताव समेत राखिसकेको पुरीले जानकारी दिए।

२६ वर्षभन्दा अघिदेखि निर्माण सुरु भए पनि यस सडकले पूर्णता पाएको छैन् । यो सडक निर्माण भए झापादेखि ताप्लेजुङसम्मको यात्रा मेची राजमार्गभन्दा ७० किलोमिटरले छोटो हुने हुनेछ।

Comments

comments

Read More