स्वास्थ्य सेवा विस्तार गर्न त्रिपक्षीय सम्झौता

सुर्खेत, ८ पुस ः कर्णाली प्रदेशका नागरिकको स्वास्थ्य सेवामा गुणस्तरीय सुधार ल्याउन त्रिपक्षीय सम्झौता गरिएको छ ।

आज कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र यस प्रदेशस्तरका जिल्ला अस्पतालबीच सम्झौता भएको हो । सम्झौताअनुसार मन्त्रालय, प्रतिष्ठान र जिल्ला अस्पतालले आआफ्नै जिम्मेवारी पूरा गर्नुपर्ने शर्त राखिएको प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

मानव सूचकाङ्कमा निकै पछि परेको कर्णाली प्रदेशको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार ल्याउन सबै जिल्लामा प्रदेश सरकारको सहयोग, प्रतिष्ठानको प्राविधिक सहायतामा यसअन्तर्गत सबै जिल्लामा स्वास्थ्य सेवा विस्तार गर्ने लिखित सम्झौता गरिएको रजिष्ट्रार काफ्लेले बताउनुभयो ।

तीनवटै निकायबीचको सम्बन्ध विस्तार गर्ने हेतुले सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट वरिष्ठ जनस्वास्थ्य प्रमुख वृषबहादुर शाही, प्रतिष्ठानको तर्फबाट रजिष्ट्रार काफ्ले, अस्पतालकोतर्फबाट हुम्ला जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट दुर्गा सुर्खालीले हस्ताक्षर गर्नुभयो । सामाजिक विकासमन्त्री दल रावलले स्वास्थ्य सेवा र शिक्षालाई प्रभावकारी विकास एवं विस्तार गर्न त्रिपक्षीय सम्झौता गरिएको बताउनुभयो । “मन्त्रालयले प्रतिष्ठानमार्फत गुणस्तरीय तथा विशेषज्ञ सेवा विस्तार सबै जिल्लामा गर्छ”, मन्त्री रावले भन्नुभयो, “जसअन्तर्गत शैक्षिक अभ्यास सञ्चालन तथा स्वास्थ्य अनुसन्धानमूलक कार्यक्रम अघि बढ्ने छन् ।”

विशेषज्ञ स्वास्थ्य सेवाका लागि मन्त्रालयले प्रतिष्ठानलाई रु चार करोड, प्रदेश अस्पताललाई रु एक करोड र जिल्ला अस्पताललाई रु एक करोड बजेट विनियोजन गरिएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार आवश्यक जिल्लामा टेलिमेडिसन सेवा सञ्चालन गरिनेछ । प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईंले प्रतिष्ठानले विशेषज्ञ सेवा विस्तार कार्यक्रम सञ्चालन गर्न सम्बन्धित जिल्ला अस्पतालमा एक÷एक स्त्रीरोग विशेषज्ञ वा जनरल प्राक्टिश्नर, एनेस्थेसिया सहायक र नर्ससहितका जनशक्ति उपलब्ध गर्ने सहमति गरिएको बताउनुभयो । त्यसका साथै यसले कार्यादेशअनुसार ‘सिइओएनसी’ सेवा उपलब्ध गराउने निर्देशक गोसाईंले जनाउनुभयो ।

Comments

comments

Read More