बाह्र बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय युवा सम्मेलन सम्पन्न

 

काठमाडौँ, १७ फागुन  ः बाह्र बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ ।

एकदिने सम्मेलनले युवाको सर्वाङ्गीण विकासका लागि कूल बजेटको कम्तीमा १० प्रतिशत रकम युवामा लगानी गर्नुपर्ने माग गर्दै सम्पन्न भएको हो । नेपालको कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत जनसङ्ख्या युवाको जनसङ्ख्या रहेको छ । शिक्षा, स्वास्थ्य, रोजगारलगायत युवाको विविध विषयमा बृहत् छलफल गर्ने उद्देश्यले एक्सनएड नेपाल र युथ एड्भोकेशी नेपाललगायतका सङ्घ÷संस्थाले सो सम्मेलन आयोजना गरेका हुन् ।

राज्यका सम्पूर्ण तहमा सिमान्तकृत तथा अल्पसङ्ख्यक युवाको अर्थपूर्ण प्रतिनिधित्व, सहभागिता र नेतृत्व सुनिश्चित गर्नु र बृहत्तर यौनिकता शिक्षा, यौन तथा प्रजनन शिक्षा र सेवामा युवाको सहज पहुँच सुनिश्चित गर्नुपर्ने मागसहितको सो घोषणापत्र आजै युवाले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बुझाए । “स्थानीय तहमा युवालाई मार्गदर्शन, परामर्श र सूचना प्रदान गर्न आवश्यक संयन्त्रको विकास गर्नुका साथै सडकमा आश्रित युवाको कानूनीरुपले दस्ताबेजीकरण गरी आधारभूत अधिकारको परिपूर्तिको सुनिश्चित गरियोस्”, घोषणापत्रमा उल्लेख छ ।

सोही अवसरमा अध्यक्ष तिमिल्सिनाले संविधान कार्यान्वयनसँगै मुलुकलाई सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्दै युवालाई स्वेदेशमै रोजगारीको सिर्जना गर्ने उद्देश्यले वर्तमान सरकार निर्माण भएको बताउनुभयो । देशभित्रै युवालाई रोजगारीको सिर्जना गर्नका लागि निर्वाहमुखी कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक कृषि प्रणालीलाई स्थापित गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । युथ एड्भोकेशी नेपालका अध्यक्ष नरेन खतिवडाले सिमान्तकृत तथा जोखिममा रहेका युवाका निम्ति रोजगारमूलक तालीम तथा सीप विकास कार्यक्रम स्थानीयस्तरबाटै लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

Comments

comments

Read More