मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा

काठमाडौ ,२२ चैत्र :

मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनअन्तर्गत गोरखातर्फ पर्ने ३३ किलोमिटर क्षेत्रमा करीब ९० प्रतिशत काम सम्पन्न भएको छ। विसं २०७३ कात्तिकदेखि निर्माणकार्य शुरु भएको प्रसारण लाइनमा गोरखातर्फ पर्ने क्षेत्रमा हाइटेन्सन टावर राख्ने काम करीब सम्पन्न भएको आयोजनाका इञ्जिनीयर सीताराम अधिकारीले जानकारी दिए।

प्रसारण लाइनअन्तर्गत गोरखातर्फ पर्ने गण्डकी गाउँपालिका, शहीद लखन गाउँपालिका र गोरखा नगरपालिका क्षेत्रमा टावर राख्ने काम अन्तिम चरणमा पुगेको उनले बताए।

“गोरखा क्षेत्रमा ६६ हाइटेन्सन लाइन निर्माण गर्नुपर्नेमा अहिलेसम्म ६३ निर्माण भइसकेको छ”, इञ्जिनीयर अधिकारीले भने “बाँकी रहेका तीन टावर निर्माण पनि करीब एक हप्ताभित्रमा सम्पन्न हुने गरी काम अघि बढेको छ।”

गोरखा जिल्लाका तीन गाउँपालिका हुँदै काठमाडौंको मातातीर्थसम्म पुग्ने प्रसारण लाइनको ३३ किलोमिटर क्षेत्र गोरखा जिल्लामा पर्छ। “‘गोरखातर्फ तार तान्ने काम मात्रै बाँकी छ भने पनि हुन्छ”, अधिकारीले भने, “लगभग सात किलोमिटर जति त तार तान्ने काम पनि भइसकेको छ।”

आयोजनाको सवस्टेशन निर्माणको कामसमेत करीब ७० प्रतिशत सम्पन्न भएको जनाइएको छ । “सवस्टेशन निर्माण आउँदो कात्तिकभित्र सम्पन्न गर्ने गरी सम्झौता भएकाले निर्धारित समयमा लगभग सम्पन्न हुने देखिन्छ”, उनले भने, “प्रसारण लाइन भने यही महिनाभित्र सक्नुपर्ने भए पनि ढिलाइ भएकाले ६ महिना थपका लागि प्रस्ताव पठाएका छौँ ।”

कुनै प्राविधिक समस्या नभएमा आगामी ६ महिनाभित्रमा मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न हुने इञ्जिनीयर अधिकारीले बताए। नेपाल विद्युत् प्राधिकरणले देशभर विद्युत् प्रसारण लाइनको क्षमता विस्तारका लागि २२० केभी प्रसारण सञ्जाल निर्माण शुरु गरेसँगै पश्चिम क्षेत्रमा मस्र्याङदी–काठमाडौं २२० केभी प्रसारण लाइन निर्माणकार्य अघि बढेको हो

आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणको जिम्मा भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले पाएको छ भने सवस्टेशन निर्माणका लागि चिनियाँ कम्पनी सेनजेन फाराड इलोक्ट्रिक कम्पनीले ठेक्का पाएको छ।

Comments

comments

Read More