बौद्ध शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड – स्याल्पा तेन्जिङ !

६ वैशाख , सिन्धुपाल्चोक । छ्योइफेल कुन्देलिङ गोन्पाको ह्राप्ने (प्राण प्रतिष्ठा) तथा भवन उद्घाटन कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

सो कार्यक्रममा बौद्ध धर्मका गुरु स्याल्पा तेन्जिङ रिम्पोछेको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिमा भारतीय दुतावासका नियोग उप–प्रमुख डा. अजय कुमार रहनुभएको थियो साथै छ्योइफेल कुन्देलिङ गोन्पा समितिका अध्यक्ष पुण्यसागर लामा लगायत विभिन्न संघसंस्था बाट पाल्नुभएका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

गुरु स्याल्पा तेन्जिङ रिम्पोछे द्वारा दीप प्रज्वलन गरि औपचारिक कार्यक्रमको उद्घाटन गरिएको थियो भने नियोग उप–प्रमुख डा. अजय कुमारले भवन उद्घाटन गरेका थिए ।कार्यक्रममा स्मारिका पनि लोकार्पण गरियो साथै स्थानीयवासी तथा लामाहरुको छ्याम नाच , टुङ्ना र डम्फू नाचको विशेष प्रस्तुति रहेको थियो ।

छ्याम नाच

बिहीबार र शुक्रबार गरि दुइ दिन सम्म रहेको उक्त कार्यक्रममा गुरु स्याल्पा तेन्जिङ रिम्पोछेले बौद्ध गुम्बा पुनःनिर्माण भएकोमा खुशी व्यक्त गर्नुभएको छ साथै सो गुम्बामा बौद्ध शिक्षा संचालन गर्ने आश्वासन समेत दिनुभएको छ । बौद्ध शिक्षालाई प्राथमिकता दिदै ५/६ वर्षदेखि १८/१९ वर्ष उमेरकालाई बौद्ध शिक्षा लिनका लागि आग्रह समेत गर्नुभएको छ । सेवा नै धर्म हो त्यसकारण लिसङ्खु गुम्बाको जिम्मेवारी आफुले लिने साथै सत् प्रतिशत सहयोग गर्ने बताउनुभयो । त्यस्तै गरि डा. अजय कुमारले सो कार्यक्रममा बोल्दै हाम्रो सानो सहयोगले यहाँका गुम्बामा अझ राहत मिलेको बताए । साथै दुतावासले सिन्धुपाल्चोकमा धेरै सहयोग गरेको बताएका छन् ।

कार्यक्रममा सस्थाका उपाध्यक्ष सिद्दिबज्र लामाले गुम्बाको इतिहास हजार बर्ष पुरानो रहेको उल्लेख गर्दै विभिन्न कालखण्डमा लामा कुस्योहरुले संरक्षण गरेर राखेको जानकारी दिए । २०३८ सालदेखि कार्यसमिति बनाएर संरक्षण गरिरहेको बताए ।

उक्त गुम्बा पुनर्निर्माण सँगै १ करोड ८९ लाखको अनुदान सहयोगमा भारतीय दुतावासले आवास, भान्छा, सरसफाई सुविधा तथा कम्पाउण्ड पर्खाल जस्ता संरचनाहरुको निर्माण गरिदिएका छन् ।

गुम्बामा म्हाणिछ्योको, बुद्ध जयन्ती, ल्होछार, भदौ पुर्णिामा, चैत पुर्णिमा पुजा र घेवा गरिन्छ । यो गुुम्बा पुर्वको ६ घ्याङमध्येको एक रहेको छ । यो गुम्बाको पुरानो नाम टासी धार्गेलिङ रहेको थियो । ङिङ्मापा सम्प्रदाय दसौं शताब्दीमा बनेको गुम्बा प्राकृतिक प्रकोपका कारण पछि छोइफेल कुन्देलिङ गोन्पामा परिणत भएको स्थानीयवासीको भनाइ रहेको छ ।

Comments

comments

Read More