हेटौँडामा लुम्बिनी भ्रमण वर्षको प्रचार टोली

हेटौँडा : लुम्बिनी भ्रमण वर्ष–२०७६ को प्रचारप्रसार टोली प्रदेश ३ को मुकाम हेटौँडा पुगेको छ। प्रदेश ५ सरकारले घोषणा गरेको गौरवको कार्यक्रमको रुपमा रहेको  लुम्बिनी भ्रमण वर्ष–२०७६ को प्रचारप्रसारका लागि टोली हेटौँडा आइपुगेको हो। ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने मूल नाराका साथ एक वर्षमा करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको प्रचारप्रसार समितिका संयोजक भरत केसीले बताए। लुम्बिनीमा बर्सेनि करिब १६ लाख पर्यटक पुग्ने गरेको तथ्यांक छ। लुम्बिनी विकास कोषको पछिल्लो तीन वर्षको तथ्यांकअनुसार वार्षिक १२ लाख नेपाली, डेढ लाख भारतीय र बाँकी डेढ लाख विभिन्न ८७ देशका पर्यटक रहेका छन्। भ्रमण वर्षका लागि प्रदेश सरकारले करिब तीन करोड ६० लाख रुपैयाँ विनियोजन गरेको गरेको छ।  ‘बुद्धको जन्मभूमि तथा विश्व सम्पदा सूचिमा सूचिकृत पुरातात्विक स्थान लुम्बिनी घुम्ने पर्यटकको संख्या बढाउने प्रदेश सरकारको योजना अनुसार हामी अगाडि बढिरहेका छौं ।’, उनले भने । लुम्बिनी क्षेत्रमा पर्यटकहरुको बसाइ अवधि लम्ब्याउने, लुम्बिनीलाई बुद्धको जन्मस्थल तथा बौद्धदर्शनको उद्गम स्थलको रुपमा प्रचारप्रसार गर्न र लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश ५ का महत्त्वपूर्ण पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार र प्रवद्र्धन गर्ने कार्य सरकारले गरिरहेको संयोजक केसीले बताए।  भ्रमण वर्षमा विशेषगरी मायादेवी प्रसुतिमार्ग घोषणा तथा प्रसुति उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खीर उत्सव, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्ज्वलन, मासिक फूल मून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन तथा पूजाआजा र योग तथा ध्यान शिविरहरु सञ्चालन गरिने बताइएको छ। प्रचारप्रसार कार्यक्रममा प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले समृद्धिको आधार पर्यटन भएको बताउँदै पर्यटन विकासका लागि विभिन्न क्रियाकलाप गर्न जरुरी रहेको औंल्याए। ‘अब भाषणा गरेर समृद्धि आउँदैन । काम गर्नैपर्छ,’ उनले भने, ‘हाम्रो देश पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको देश हो। त्यसकारण हामीसँग भएको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नु अहिलेको आवश्यकता हो।’ 

Comments

comments

Read More