फोरम र नयाँ शक्ति बीच वैशाख २३ गते पार्टी एकीकरण हुने

काठमाडौ १८ बैशाख ,२०७६:– संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच वैशाख २३ गते पार्टी एकीकरणको घोषणा हुने भएको छ। लामो समयदेखि एकीकरणका लागि जुटिरहेका ती दुई पार्टीबीच निकै छलफल पछि मिति तय गरेको छ।

पार्टी एकतालगत्तै अहिलेसम्म एकीकृत पार्टीमा दुवै दलका अध्यक्ष रहने गरि अध्यक्षमण्डल रहने तयारी भएको छ  । अर्थात नेकपाको मोडेलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई दुईजना नै अध्यक्ष रहने बताइएको छ । निर्णय गर्ने अधिकार दुवैजनाको समान रहने भएपनि वरिष्ठताक्रममा भट्टराई पहिलो नम्बरमा रहने बताइएको छ । अरु पदको बारेमा दुई पार्टीबीच छलफल भइरहेको छ ।

फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई यो एकीकरणमा सामेल गराउन भनेको छ । त्यसका लागि एक दुईपटक तीनटै दलको बीचमा छलफल पनि भएको छ, तर राजपा नेपालको तर्फबाट खासै सक्रियता नदेखाएपनि फोरम नेपाल र नयाँ शक्ति नेपालले भने पार्टी एकताको मिति तय गरेका हुन् ।

नयाँ शक्तिसँग एकीकरण गर्ने  निश्चित भएपछि फोरम नेपालले आफ्नो केन्द्रीय महाधिवेशन सार्ने तयारी गरिरहेको श्रोतले जनाएको छ ।

Comments

comments

Read More