इस्लाम धर्मावलम्बीहरुको रमजान सुरू

भरतपुर । इस्लाम धर्मावलम्बीहरुको एक महिनासम्म चल्ने पवित्र पर्व रमजान मंगलबारबाट सुरू भएको छ । रमजानमा इस्लाम धर्म मान्नेहरु एक महिनासम्म निराहार व्रत बस्ने प्रचलन छ ।

नेपाल मुस्लिम इत्तेहाद संगठनका जिल्ला इन्चार्ज शमशेरदिन मियाँले रमजान वर्षमा एक पटक आउने र नवौं महिनामा पर्ने बताए । उनले मुस्लिम समुदायहरुको ठूलो चाड रमजान रहेको जानकारी दिए ।

उनका अनुसार रमजान पर्वमा रोजासमेत बस्ने गरिन्छ । बिहान ३ः४५ देखि बेलुका ६ः५० सम्म निराहार व्रत बस्नुलाई रोजा भनिन्छ । शरीरलाई चोखो राखेर रोजा बस्ने गर्दछन् ।

कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने कुलतबाट मुक्ति पाउने विश्वास रहेको मियाँले बताए । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा रोजा बस्नुलाई गर्व मानिन्छ । नाबालक, बिरामी, दीर्घ र घातक रोग लागेका तथा गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।

रमजानमा रोजा बसेर अल्लाहलाई सम्झेमा अल्लाहकै हातबाट आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास छ । एक महिनासम्म हरेक दिन सूर्य उदाउनुभन्दा अगाडि केही खानेकुरा खाई सुरू हुने रोजा सूर्यास्त भइसकेपछि खानेकुरा खाएर खोल्ने गरिन्छ । रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुपर्छ । तीस दिनको रमजानमा रोजा गरिसकेपछि इदुलफित्र मनाइन्छ ।

जिल्ला इन्चार्ज मियाँले इदुलफित्रको दिन नुवाइधुवाइ गरी मस्जिदमा गएर प्रार्थना गरिने बताए । उनका अनुसार रमजानमा वर्षभरीको कमाइको साढे दुई प्रतिशत दीनदुःखीहरु, असहाय, वृद्धवृद्धा, महिला तथा रोगीलाई दान गर्ने प्रचलन रहेको छ । उनले भने, ‘रमजानमा साढे सात तोला सुन, ५२ तोला चाँदी भएको व्यक्तिले त्यसको जकाप निकालेर दान गर्ने चलन छ ।’

Comments

comments

Read More