पर्यटन प्रवर्द्धनका लागि दुई दिने कोन्ज्योसोम पदयात्रा !

मनु तामाङ

५ वैशाख , ललितपुर । कोन्ज्योसोमलाई चिनौ र चिनाऔं , आन्तरिक पर्यटनको प्रवर्द्धन गरौँ भन्ने नाराका साथ ललितपुर जिल्लाको विकट गाउँ कोन्ज्योसोम गाउँपालिकाको सबै वडामा पदयात्रा गराइएको छ ।

कोन्ज्योसोम क्षेत्र विकास समिति र कोन्ज्योसोम गाँउपालिकाको सह आयोजनामा वैशाख ३ र ४ दुई दिने सो पदयात्रामा दुई दर्जन भन्दा बढी पत्रकारहरु , स्वास्थ्यकर्मी , जनप्रतिनिधि , प्रशासकिय अधिकृत , प्रहरी , शिक्षकशिक्षिका ,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

पदयात्रा (हाइकिङ) वडा न. ४ नल्लु पाथिभरा मन्दिरबाट सुरुवात हुदै दलचोकी मनकामना मन्दिर,संखुको कृष्ण प्रणामी मन्दिर ,मगर गाउँको तामाङ सङग्रालय ,निर्माणाधिन भ्युटावर, कृषि क्षेत्र, निर्मणाधिन छ्योर्तेन त्यसैगरी वडा नं. १ स्थित चौघरेमा निर्माणाधिन रंगशाला, वडा नं. ५ मा रहेको गाउँपालिकाको नामाकरणसँग जोडिएको बुद्धको तीन वटा प्रतिमा स्थापना गर्न लागेको स्थान र १०२ वर्ष पुरानो १७ झ्याले घर, गुप्तेश्वर महादेव , गुफा लगायतका स्थानहरु अवलोकन गरिएको थियो ।

२७ सय मिटर उचाइमा रहेको उक्त क्षेत्र भौगोलिक हिसाबले डाँडाकाँडा , लालिगुँरासले ढपक्क ढाकेको जँगल , चराचुरुङ्गीको चिरविर आवाज विभिन्न किसिमका काफल , एेसेलु लगायत पर्यटकलाई लोभ्याउने ठाउँ हुँदाहुँदै पनि प्रचारप्रसारका अभावले यस क्षेत्रलाई चिनाउन नसकिएका कारण पनि दुई दिने पदयात्रा कार्यक्रम गरेको कोन्ज्योसोम गाँउपालिका प्रमुख गोपिलाल सिङ्तान वताउनुहुन्छ । पर्यटन प्रवर्द्धनका लागि कोन्ज्योसोम गाउँपालिकाको सबै वडालाई चिनाउने एउटा माध्यम बनाउने , उत्पादन क्षेत्रवाट पर्यटकलाई लोभ्याउने किसिमको वातावरण तयार पार्ने मुख्य योजना रहेको उहाँको भनाइ छ ।

त्यस्तैगरि काठमाडौंको छेउमै रहेको ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिकाको जीवनस्तर एकदमै कमजोर रहेको र पर्यटन व्यवसायलाई त्यहाँको उत्पादन सँग जोडेर जीवनस्तर उकास्न सकिने सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमबहादुर महत वताउनुहुन्छ ।

गुप्तेश्वर महादेव,गुफाको दर्शन ,पुजापाठ गरेर भारदेउ पौवामा रहेको बुद्ध चैत्यमा औपचारिक कार्यक्रम गर्दै कोन्ज्योसोम पदयात्राको समापन गरिएको थियो ।

Comments

comments

Read More