प्रिय सखी – सबिता लामा

प्रिय सखी!!
खै कसरी सुरुवात गरुँ ,खै कसरी भनुँ..
थरथर काँपिरहेका छन् यी हातहरु,
जुन हात आजभन्दा ४/५ बर्ष पहिले तिमीसंगै थमाएर हिंड्ने गर्थ्यो।

१००औं किलोको ढुङ्गाले थिचे जस्तै भएको छ मन,
जुन आजभन्दा ४/५ बर्ष पहिले तिमीसंगै सिमलको भुवा बनाएर उडाएकि थिए।

कारागारको मुलगेटमा झुन्डाईएको भोटे ताल्चा जस्तै ठुलो ताल्चा झुन्डिएको छ यो मुखमा,
जुन आजभन्दा ४/५ बर्ष पहिले तिमीसंगै हाँसिरहेको हुन्थ्यो।

अस्ति जस्तै लाग्छ ओए “सबिता”भनेर तिम्ले बोलाएको!
त्येही सबिता शब्द आज पटकपटक यो कानमा ठक्कर दिन आईपुग्छ,
र यो ओठ पहिले जस्तै हजुरको प्रतिक्रिया दिन खोजिरहन्छ।
तर दुर्भाग्य!!!
आज यो ओठबाट हजुर भन्ने शब्द निस्कननै मान्दैन।

हिजो जस्तै लाग्छ!!
कुमार सरले तिमी अनि मलाई एस. (सबिता) स्क्वायर भन्नुभएको।
र होत हामी एस.स्क्वायर नाम पनि एउटै,थर पनि एउटै भनेर गल्लल हाँसेको।
अनि “रुम टू रिड” को ट्रेनिङ सकाएर फर्किदा
चौँरिको लाकुरेको बोट नजिकै २/४ जना केटाहरुलाई मज्जाले थर्काएको।
रात परेको बेला चिसापानीको डाँडामा राँके भुत आउँछ अनि गम्बुखोलानिर घोर्ले बाघ आउँछ भनेर एकार्काको हात समाएर बेजोडले भागेको।

पहिलापहिला,
बेसरी हाँस्थ्यो यो ओठ तिम्रो कुरा सुनेर,
बेसरी धड्किन्थो मुटु हाँसो बढी भएर,
बेसरी दुख्थो पेट मांसपेशी बढी आराम भएर,
अनि सुरुरु बग्थ्यो खुसिको आँसु हाँसो बढी भएर।

तर हिजोआज,,
थरथर काँपिरहेछ ओठ ,
फुट्ला झैँ गरेर धड्किरहेछ मुटु,
आन्द्रा नै चुँड्ला झैँ गरेर दुखिरहेछ पेट,
अनि मुल सुकेको धारो जस्तै तपतप गरिरहेछ आँसु,
मात्र तिमिलाई सम्झेर।

झलझली तिमिलाई नै सम्झिरहन्छ कबर्टि खेल्दा पछारिएको हरेक पलहरुले,
च्यातिएका फ्रक अनि सर्टहरुले,
भलिबल खेल्दा सुन्निएका हातहरुले,
अनि चुङ्गि खेल्दा दुखेका खुट्टाहरुले।

त्यो क्लास रुम,डेस्कबेन्च,ब्ल्याकबोर्ड अनि चुटुक्कको झ्यालहरु तिमिलाई नै पटकपटक हेर्न चाहन्छ,

तिमिलाई नै पुनःएकपटक लुपुक्क आफ्नो काखमा राख्न चाहन्छ त्यो स्कुलको छत,बार्तली,चौर अनि चौरमाथिका हरिया घाँसहरु,

आफ्नो नजरहरु यताउता डुलाउँदै टाढाटाढा सम्म पनि तिमिलाईनै खोजिरहन्छ त्यो मगरसुली डाँडा अनि मगरसुलि डाँकाको बुट्यानहरु,
तिमिसंग नै पुनः एकपटक सुमधुर गित गाउन चाहान्छ त्यै बुट्याानलाई आफ्नो बासस्थान बनाएका चराचुरुङ्गीहरु,

कतै बाटो बिरायौ कि भनेर यता आउ है भन्ने संकेत गर्दै तिम्रा लागि उभिरहेका छन् ती मानेगङका सानदार माने अनि लुङ्दुरहरु।

साथमा,
तिमिलाई नै खोजिरहेका छन् मेरा भुतहरु,
तिमिलाई नै महसुस गरिरहेका छन् मेरा बर्तमानहरु,
तिमिलाई नै कल्पिना गरिरहेका छन् मेरा भबिस्यहरु,,

प्रिय सखी,,
तिमी जहाँ छौ,जस्तो छौ,जे छौ कृपया पुनः एकपटक “ओई”भनेर बोलाउन आउ ,
मेरा ज्ञानेन्द्रीयहरुसंग महसुस गर्न आउ ,
अनि तिम्रो यादहरु,सम्झनाहरु,प्यारहरु तिमिसङ्गै तिमी जसरिनै सधासधाको लागि उठाएर लान आउ,
तब मात्र म तिमिलाई अल्बिदा सखी भनेर हाँसिहाँसी बिधा गर्न सक्नेछु।🙏
उहीँ तिम्रो साथी
– सबिता लामा

Comments

comments

Read More